धनुषा/असार ५ गते। ‘खेली मधेस, जिती मधेस’ नाराका साथ मधेश खेलकुद परिषद्को आयोजनामा पहिलोपटक सञ्चालन गरिएको राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता सम्पन्न भएको छ।
जनकपुरधामको जानकीनगरस्थित पतञ्जली योग शिविरको सभा हलमा आयोजित प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहेको थियो। विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मधेश प्रदेश प्रथम, सशस्त्र प्रहरी बल (एपीएफ) दोस्रो तथा त्रिभुवन आर्मी क्लब तेस्रो हुन सफल भएका छन्।
शुक्रबार आयोजित समापन समारोह मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा विभिन्न तौल समूहका विजेता खेलाडीहरूलाई स्वर्ण, रजत तथा कांस्य पदकका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
प्रतियोगिताको उद्देश्य कुश्ती खेलको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाशाली खेलाडीहरूको पहिचान र विकास गर्नु रहेको आयोजकले जनाएको छ। परिषद्ले यस्ता प्रतियोगिताले परम्परागत खेलप्रति युवापुस्ताको आकर्षण बढ्नुका साथै राष्ट्रिय स्तरमा प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
मधेश प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरू उत्साहित बनेका छन्। आयोजकले आगामी वर्षहरूमा पनि प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ।





















Discussion about this post