धनुषा/बैशाख ३० गते। ‘जनकपुर साहित्य महोत्सव’ को सातौं संस्करण जेठ १ गतेबाट शुरू हुने भएको छ। नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव ३ जेठसम्म महेन्द्र नारायण निधि भवनमा आयोजन हुनेछ ।
तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १३ वटा ओपन–एयर प्यानल छलफल हुनेछ । जसमा ‘मैथिलि कथाको नेपाली संसार: माटिक लोक’, ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘किन हुन्छ खेलकुदमा खेलवाड?’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ?’, ‘सञ्चारकर्मको बदलिँदो परिदृश्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा: सम्भावना, चुनौती र मार्गचित्र’, ‘नेपाली महिला लेखन: संघर्षदेखि सिर्जनासम्म’ जस्ता १३ वटा विषयमा विमर्श हुनेछ।
जनकपुरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो । महोत्सवको उद्घाटन जेठ १ गते दिउँसो २:०० बजेदेखि निधि भवनको सभाहलमा मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गर्ने जनाइएको छ। तीने दिवसिय महोत्सवको प्रमुख विशेषता जेठ दुई गते बिहान प्रभातकालिन सम्पदा पदयात्रा हुने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले बताए। “यो पदयात्रामा कम्तिमा पनि १२ सयदेखि १५ सय जनालाई एकैखालका पोशाकमा पदयात्रा गर्नेछन्,” नेपालले भने, “यो पदयात्राको उदेश्य सम्पदाको महत्व र अस्तित्वलाई झल्काउने सन्देश दिनु हो।”
महोत्सवका निर्देशक राजीवधर जोशीका अनुसार सातौं संस्करण अन्य संस्करणबाट पृथक रहनेछ। “यसपटक हामी जनकपुरधामलाई प्राथमिकतामा राखेका छौँ,” जोशीले भने, “जानकी मन्दिर र यहाँका सम्पदामाथी विशेष मन्थन हुनेछ।”
महोत्सवको विशेष आकर्षणका रूपमा जेठ २ गते बिहान ‘सम्पदा पदयात्रा’ पनि आयोजना गरिनेछ । उपाध्यक्ष आदित्य नेपालका अनुसार पदयात्रामा १२ सयदेखि १५ सय जनासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्पदाको महत्व, संरक्षण र अस्तित्वबारे जनचेतना फैलाउने उद्देश्यले एकरूप पोशाकमा पदयात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।




















Discussion about this post