धनुषा/बैशाख २६ गते । स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी दरबन्दी थप गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै मधेसका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । विशेषगरी हेल्थ असिस्टेन्ट (एचए), सिएमए तथा ल्याबतर्फ कुनै पनि दरबन्दी नसमेटिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
जनकपुरधामस्थित जनकचोकमा स्वास्थ्यकर्मीहरूले नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्य मन्त्रीको प्रतीकात्मक पुतला समेत दहन गरेका थिए ।
आन्दोलनमा सहभागी स्वास्थ्यकर्मीहरूले सरकारले स्वास्थ्य क्षेत्रको वास्तविक आवश्यकता र ग्रामीण तहको सेवा संरचनालाई बेवास्ता गरेको आरोप लगाए ।
प्रदर्शनका क्रममा स्वास्थ्यकर्मी नवेश अधिकारी ले लामो समयपछि स्वास्थ्य क्षेत्रमा स्थायी दरबन्दी थपिनु सकारात्मक विषय भए पनि आधारभूत स्वास्थ्य सेवामा प्रत्यक्ष खटिने जनशक्तिलाई पूर्ण रूपमा उपेक्षा गरिएको बताए । उनले ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा दरबन्दी विस्तार हुँदा आफूहरू उत्साहित भए पनि एचए, सिएमए र ल्याब समूहलाई शून्य दरबन्दीमा सीमित गर्नु अन्यायपूर्ण भएको धारणा राखे ।
उनका अनुसार देशका अधिकांश ग्रामीण स्वास्थ्य संस्था र प्राथमिक स्वास्थ्य केन्द्रमा एचए तथा सिएमएहरूले मुख्य जिम्मेवारी सम्हाल्दै आएका छन् । तर, नयाँ संरचनामा उनीहरूलाई स्थान नदिइनुले सरकारले स्वास्थ्य सेवाको आधार तहलाई कमजोर बनाउने प्रयास गरेको आरोप उनले लगाए ।
स्वास्थ्यकर्मी अधिकारीले वर्तमान सरकार मेडिकल माफियाको प्रभावमा परेर यस्तो निर्णय गर्न पुगेको दाबी गर्दै निर्णय तत्काल संशोधन गर्न माग गरे । उनले सरकारले आफूहरूको माग सम्बोधन नगरे आगामी वैशाख २८ गते काठमाडौं केन्द्रित कडा आन्दोलन सुरु गर्ने चेतावनी समेत दिए ।
नेपाल सरकारले केही दिनअघि मात्रै स्वास्थ्य क्षेत्रमा ९ सय ७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञ दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाएको थियो । उक्त प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरिसकेको जनाइएको छ । सरकारका अनुसार नयाँ दरबन्दी स्वास्थ्य सेवाको गुणस्तर सुधार, विशेषज्ञ सेवा विस्तार तथा संघीय संरचनाअनुसार जनशक्ति व्यवस्थापनका लागि थप गरिएको हो ।
तर आन्दोलनरत स्वास्थ्यकर्मीहरूले नयाँ दरबन्दी वितरणमा असन्तुलन रहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार विशेषज्ञ तथा उच्च तहका पदहरूमा मात्रै ध्यान दिइँदा गाउँ–गाउँमा प्रत्यक्ष सेवा दिने मध्यमस्तरका स्वास्थ्य जनशक्ति उपेक्षित भएका छन् ।
प्रदर्शनमा सहभागीहरूले सरकारले निर्णय पुनरावलोकन गरी एचए, सिएमए, ल्याब तथा अन्य प्राविधिक समूहलाई समेत समेटेर नयाँ दरबन्दी निर्धारण गर्नुपर्ने माग गरेका छन् । उनीहरूले स्वास्थ्य सेवा प्रभावकारी बनाउन आधारभूत तहका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।




















Discussion about this post