काठमाडौँ। चालु आर्थिक वर्षको गत २० चैतसम्म काठमाडौं जिल्ला अदालतमा २ हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा १ हजार ३९ मुद्दाको फैसला भइसकेको छ ।
२०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेदसम्बन्धी फर्छ्यौट हुन बाँकी मुद्दाको संख्या १ हजार ९४७ रहेको छ । सर्वाेच्च अदालतको २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर ४२ हजार ७३९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । सो आर्थिक वर्षमा सर्वाेच्च अदालतमा ११९ र उच्च अदालतमा १ हजार ५४१ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए ।
सोही आवमा ३३ हजार ५० वटा मुद्दा फर्छ्यौट भएकामा ९ हजार ६८९ मुद्दाको छिनोफानो हुन सकेन । त्यसमध्ये जिल्लाबाट ४१ हजार ७९ वटा मुद्दा फर्छ्यौट भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आव २०८०/८१ मा ४० हजार ३२० वटा सम्बन्धविच्छेदसँग सम्बन्धित मुद्दा दर्ता भएकामा ३१ हजार ७५२ मुद्दा फर्छ्यौट भएको थियो भने ८ हजार ५६८ मुद्दा छिनोफानो हुन सकेन ।
यहाँ उल्लेखित तथ्यांकले के देखाउँछ भने पछिल्लो समय सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको संख्या एकदमै बढेको छ । बदलिँदो विश्व परिस्थितिको प्रभाव, आधुनिक नेपाली समाज र परिवारमा देखिने सामान्य मतभेदमा पनि सम्बन्धविच्छेद गरिहाल्ने प्रवृत्तिले संख्या बढेको सरोकारवाला बताउँछन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकृत दीपक श्रेष्ठका अनुसार बैंकिङ कसुर र चेक अनादरपछि सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । कतिपय परिवारमा श्रीमान्/श्रीमतीबीच सामान्य खटपट हुनासाथ सम्बन्धविच्छेदका लागि अदालत आउने गरेको देखिएको छ ।
वैदेशिक रोजगार, परिवारको असहमतिमा हुने प्रेम–विवाह, अन्तरजातीय विवाह, आधुनिकता, अर्काको नक्कल गर्ने प्रवृत्ति, कुटपिट, मानाचामल र हेरचाह नगरेको, नेपाली समाजमा खस्कँदै गएको संस्कार र संस्कृति तथा दम्पतीबीचको मतभेदले पनि सम्बन्धविच्छेद गर्नेको संख्या बर्सेनि बढ्दै गएको अनुमान गरिएको छ ।
अधिवक्ता गोकुल दवाडी वैदेशिक रोजगारी, आर्थिक अभाव, परिवारिक तनावजस्ता कारणले सम्बन्धविच्छेदको संख्या बढेको बताउँछन् । उनी भन्छन्, ‘रिट निवेदन लिएर अदालतमा पुगेका सबैको सम्बन्धविच्छेद भइहाल्छ भन्ने होइन, ५० प्रतिशत जतिको हुन्छ भने केही दम्पतीले मेलमिलाप गरेर फर्केका उहाहरण पनि छन् ।’
अध्ययन र रोजगारीका लागि ‘डिपेन्डेन्ट भिसा’मा जाने कतिपय युवा जोडीले त विवाह गरेको महिना दिन नपुग्दै दाम्पत्य सम्बन्ध अन्त्यका लागि फिरादपत्र लिएर अदालत आउँछन् । सूचना अधिकृत श्रेष्ठले विदेश जान प्रेमविवाह हतारमा गर्ने, परिवारलाई थाहा नहुने अनि कतिपय सामाजिक आस्था र परिवारको सहमतिबेगर भएका कारण पनि सम्बन्धविच्छेद भएको पाइन्छ ।
त्यसो त ज्येष्ठ नागरिक भइसकेका र बाँकी जीवनका लागि सहारा चाहिने उमेरमा पनि सम्बन्धविच्छेद गरेका घटना प्रशस्तै छन् । हजुरबुबा–हजुरआमा उमेरका पनि सम्बन्धविच्छेदका लागि अदालत आउने गरेको कानुन व्यवसायी बताउँछन् । – नारायण न्यौपाने














Discussion about this post