मङ्सिर ९ गते। भगवान सीताराम विवाह महोत्सव धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व शुक्रबार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ।
त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो। रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।
महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ। पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुरर्याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।
रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।
रङ्गभूमि मैदानमा वर र वधु पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ। पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकअघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ।
श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ।
उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ। यसैगरी देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ।
भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ। अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ।
राम-सीता विवाह कथा
पुराणहरुमा के भनिएको छ भने भगवान राम तथा देवी सीता भगवान विष्णु तथा माता लक्ष्मीका अवतार हुन् । राजा दशरथको घरमा जन्मिएका राम तथा राजा जनककी छोरी हुन् सीता । भनिन्छ, सीताको जन्म धर्तीबाट भएको हो । जब जनक हलो जोतिरहेका थिए । तब उनले एउटी सानी बच्चीलाई फेला पारेका थिए । उनैलाई सीता नामाकरण गरिएको थियो । उनैलाई जनक नन्दिनी पनि भन्न थालियो ।
मान्यता के छ भने एक पटक बाल्यकालमा सीताले मन्दिरमा राखिएको धनुषलाई निकै सहजताले उठाएकी थिइन् । उक्त धनुषलाई त्यो बेलासम्म परशुरामका अतिरिक्त अन्य कुनै पनि व्यक्तिले उठाउन सकेका थिएनन । त्यसपछि राजा जनकले के निर्णय गरे भने जो व्यक्तिले शिवको उक्त धनुष उठाउँछ, उसैसाग सीताको विवाह गरिने छ ।
त्यसपछि सीताको स्वयंवरको दिन निश्चित गरिएको थियो र सबै ठाउँमा उक्त सन्देश पनि पठाइएको थियो । त्यो बेला भगवान राम तथा लक्ष्मण महषिर् वशिष्ठसाग दर्शकको रुपमा त्यही स्वयंवरमा पुगेका थिए । थुप्रै राजहरुले धनुष उठाउने प्रयास गरे । तर, कसैले पनि उक्त धनुषलाई हल्लाउन समेत सकेनन् । हताश जनकले करुण शब्दमा आफ्नो पीडा वशिष्ठसाग व्यक्ति गदै भनेका थिए-के कोही पनि मेरी छोरीको योग्य छैनन् त ?
त्यसपछि महषिर् वशिष्ठले भगवान रामलाई उक्त स्वयंवरमा भाग लिनका लागि आदेश दिए । आफ्ना गुरुको आज्ञा पालना गर्दै भगवान श्रीरामले धनुष उठाए र त्यसमा प्रत्यंचा चढाउन खोज्दै थिए । धनुष भाँचियो । त्यसप्रकार उनले स्वयंवरको सर्त पुरा गरेर सीतासाग विवाह गर्नका लागि योग्य ठहरिए ।
राम र सीतालाई नेपाली जनमानसमा प्रेम, समर्पण, मूल्य, मान्यता तथा आदर्शको परिचायक श्रीमान्-श्रीमतीको रुपमा लिने गरिन्छ । इतिहास तथा पुराणहरुमा रामजस्ता कुनै पुत्र, दाजु, योद्धा तथा राजा हालसम्म पैदा नभएको उल्लेख गरिएको छ । त्यसैले गरी इतिहास तथा पुराणहरुमा सीता जस्ती कुनै पुत्री, श्रीमती, आमा, बहु हालसम्म नजन्मिएको उल्लेख गरिएको छ ।
त्यसैले पनि हाम्रो समाजमा राम तथा सीतालाई आदर्श श्रीमान्-श्रीमतीको रुपमा स्वीकारिएको छ र उनीहरुकै पूजा गरिन्छ । यसैलाई मध्येनजर गर्दै राम-सीताको विवाहको वर्षगाँठलाई उत्सवको रुपमा मनाउने परम्परा रहँदै आएको छ ।














Discussion about this post