जनकपुरधाम/श्रावण २ गते। पर्यावरण तथा वन्यजन्तु संरक्षणमा उल्लेखनीय योगदान दिएका नेपालका सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिने भएको छ। आगामी जुलाई २६ देखि २८ तारिखसम्म भारतको राजस्थान अन्तर्राष्ट्रिय केन्द्र, जयपुरमा आयोजना हुने ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा सिंहलाई औपचारिक रूपमा सम्मान गरिने कार्यक्रम तय भएको छ।
धनुषा जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौना निवासी सिंह वातावरण विज्ञानका विद्यार्थी हुन्। उनले मिथिला वाइल्डलाइफ ट्रस्टको कार्यकारी निर्देशकको हैसियतले तराई क्षेत्रका सामुदायिक वन र जैविक विविधताको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
सन् २०१८ देखि निरन्तर वातावरण, वन्यजन्तु तथा जलवायु परिवर्तनसम्बन्धी चेतना अभिवृद्धि, संरक्षण अभियान र नीतिगत पहलमा सक्रिय रहँदै आएका सिंहले आफ्ना अध्ययन, ज्ञान र रुचिलाई व्यावहारिक जीवनमा उतार्दै उल्लेखनीय कार्य गरिरहेका छन्।
उनले नेतृत्व गरेको टोलीले विभिन्न गाउँहरूमा पुगेर स्थानीयलाई वन, पानी, माटो र वन्यजन्तु संरक्षणको महत्त्वबारे प्रशिक्षण, सचेतना कार्यक्रम तथा प्रत्यक्ष सहभागी गराउने अभियान चलाउँदै आएको छ। यसले एकातर्फ तराईका जंगलमा हराउँदै गएको जैविक विविधता पुनःस्थापनामा सहयोग पुर्याएको छ भने अर्कोतर्फ स्थानीयको दिगो जीविकोपार्जनका लागि वैकल्पिक माध्यमसमेत सिर्जना गरेको छ।
सिंहले स्वदेशी ज्ञान, परम्परागत अभ्यास र आधुनिक विज्ञानको संयोजनमार्फत वातावरण संरक्षणमा नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन्। सीमित स्रोत साधनका बाबजुद उनले देखाएको जोश, समर्पण र दुरदर्शिताले संरक्षण क्षेत्रमा प्रेरणादायी उदाहरण कायम गरेको छ।
उनको यो योगदानले न केवल मिथिला क्षेत्रको पर्यावरणीय समृद्धिमा योगदान दिएको छ, तर नीति निर्माता, संरक्षण विज्ञ र सरोकारवाला निकायहरूलाई समेत प्रभावित पारेको छ। सिंहले पुरस्कारबारे प्रतिक्रिया दिँदै भनेका छन्, “यो सम्मान केवल मेरो होइन, सिंगो मिथिला र सम्पूर्ण नेपालका वातावरणप्रेमीहरूको हो।”
उनको यस्तो प्रयासले जलवायु संकटको सामना गर्न तयार रहनुपर्ने आजको विश्वलाई समेत सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। संरक्षणमा क्रियाशील युवाहरूका लागि यो सम्मान थप ऊर्जा र उत्साहको स्रोत बन्ने आशा गरिएको छ।




















Discussion about this post