उमेश कुमार साह /बोदे बर्साईन-सप्तरी/माघ ८ गते। नेपाल विद्युत् प्राधिकरण बोदेबरसाईन वितरण केन्द्रले लक्ष्मीपूर सुरुङ्गा फ्युज सेवा तथा महसुल संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख शम्भु कुशीयत यादवले यस काउन्टरको सञ्चालनपछि १० हजार ग्राहकलाई घरपायक सेवा प्राप्त हुने बताए। प्रमुख अतिथि यादवले भने, “यस काउन्टरले बिल तिर्ने, सेवाग्राहीका दैनिक समस्या समाधान गर्ने, र सेवा प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। अब यस क्षेत्रका जनतालाई घरदैलोमै सेवा पाउन सहज हुनेछ।” उनले यस क्षेत्रका जनताको समस्या समाधानका लागि सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।
यो काउन्टर सञ्चालनपछि ग्राहकले अब ५० रुपियाँको बिल तिर्न यहाँ आउँदा १०० रुपियाँ खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने छन्। ग्राहकहरूलाई प्रवाह गरिने सेवालाई थप गुणस्तर, पारदर्शी र दिर्घकालीन बनाउने यो काउन्टर सञ्चालनमा ल्याइएको बोदे बर्साईन बितरण केन्द्रका प्रमुख ई.संयोग विश्वकर्माले बताए । उनका अनुसार कार्यालय सञ्चालनका लागि सुरुङ्गा नगरपालिकाले निशुल्क भवन उपलब्ध गराएको छ ।
काउन्टर सञ्चालनमा आएसँगै नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ७ का १० हजार बढी ग्राहक लाभान्वित हुनेछन् । यहाँबाट ग्राहकहरूले विद्युतको महसुल बुझाउने, फ्युज लगायतका सेवाहरू लिन सक्नेछन् । वितरण केन्द्रका प्रमुख विश्वकर्माले काउन्टर सञ्चालनले समय र पैसाको बचतका साथै सेवाग्राहीको सुविधा बढाउने उल्लेख गरे।















Discussion about this post