जनकपुरधाम/भदौ २६ गते। मिथिला संस्कृतिको महत्वपूर्ण पर्व चौरचनको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले आगामी भदौ २९ गते सोमबार चौरचन पर्वका अवसरमा नगर क्षेत्रभित्र स्थानीय बिदा दिने जनाएको हो।
शुक्रबार बसेको जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय तथा नगर क्षेत्रभित्रका विद्यालयहरूमा स्थानीय बिदा दिने निर्णय गरेको हो।
उपमहानगरपालिकाका अनुसार स्वास्थ्य सेवा, दमकल, सरसफाइलगायतका अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।
मिथिला संस्कृतिमा चौरचन पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा लिइन्छ। यस अवसरमा विशेषगरी चन्द्रमाको पूजा तथा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरी घिमिरेद्वारा जारी सूचनामार्फत स्थानीय बिदासम्बन्धी निर्णयबारे नगर क्षेत्रका सम्बन्धित सबैलाई जानकारी गराइएको छ।
चौरचन पर्व मिथिला क्षेत्रमा पारिवारिक सुख–समृद्धि र सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।
















Discussion about this post