सप्तरी/कार्तिक २३ गते। मधेश प्रदेशसभाका निलम्बित सासंद अनिरुद्रप्रसाद सिंहलाई उच्च अदालत जनकपुरको राजविराज इजलासले धरौटीमा छाड्न आदेश दिएको छ । १६ वर्षअघिको कर्तव्य ज्यान तथा डाँका मुद्दामा जिल्ला अदालत सप्तरीको आदेशबाट दुई महिनादेखि पुर्पक्षका लागि कारागारमा रहेको थियो।
बिहीबार उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले जिल्ला अदालत सप्तरीले गत भदौ १९ गते सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश बदर गर्दे १लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले गत भदौ १९ गते सिंहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशपछि उनी सप्तरी जिल्ला कारागारमा पुर्पक्षमा राखिएका थिए ।
सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई २०८० भदौ १८ गते सप्तरी प्रहरीले १६ वर्षअघिको एक हत्या मुद्दामा नियन्त्रणमा लिएको थियो । पुर्पक्षका लागि कारागार चलान भएपछि प्रदेशसभा सदस्यबाट उनलाई निलम्बन गरिएको थियो ।
माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि चलेको मुद्दामा सिंहसमेत आरोपी थिए । उनीमाथिको यो मुद्दा त्यतिबेलादेखि नै मुल्तबीमा रहेको थियो ।
जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।
२०६४ साल असार ९ गते तत्कालीन खोक्सर प्रवाहा गाविस १ का ३२ वर्षीय दीपु भनिने गोविन्द चौधरीको हत्या भएको थियो । मृतककी दिदी रीताकुमारी चौधरीले ०६४ असार १४ गते सिंहसहित ९ जनाको नाममा किटानी जाहेरी दिएकी थिइन् । सो समयदेखि सिंह फरार सूचीमा रहँदै आएका थिए ।
सिंह अदालतमा उपस्थित नभएपछि सप्तरी जिल्ला अदालतको २०६८ साल चैत १९ गतेको फैसलाअनुसार मुलुकी ऐन अदालती बन्दोबस्तको १९० नम्बरबमोजिम मुद्दा मुल्तबीमा रहेको थियो । मुल्तबीमा रहेको रहेको सो मुद्दाका आरोपी सिंहलाई सप्तरी प्रहरीले गत भदौ १८ गते नियन्त्रणमा लिएको थियो ।

















Discussion about this post