काठमाडौँ/कार्तिक २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसहित त्यहाँका राजनीतिक दलका नेता तथा मन्त्रीले प्रदेशका कतिपय कानुन कार्यान्वयनमा नआएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफूले प्रदेशका कानुनहरू कार्यान्वयनमा ल्याउन पहल गरिरहेको तर राजनीतिक दलको खिचातानीले गर्दा समयमा हुन नसकेको प्रतिक्रिया दिएका थिए ।
ज्ञापनपत्र बुझाउने टोलीमा रहेका एक नेताका अनुसार कतिपय कानुन कार्यान्वयन ल्याउनमा अरू भन्दा आफूलाई हतार रहेको तर राजनीतिक दलहरूको बिचमा समझदारी नहुँदा समयमा गर्न नसकेको कुरा प्रधानमन्त्री प्रचण्डले राखेका थिए ।
ध्यानाकर्षण गराएका सम्पूर्ण कुरा जायज छ, ती सबै कार्यान्वयनमा आउनुपर्ने हो । आफूले एक महिनाभित्र सबै पुरा गराउने प्रयास गर्ने प्रतिबद्धता जनाएको माओवादीका नेता एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य भरत साहले बताए ।
संघीयता आएको ८ वर्ष भइसक्दा समेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले ध्यानाकर्षण गराउनु परेको मधेसका मुख्यमन्त्री सरोज यादवले बताए । उनले ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिए ।
प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक तथा गुठी जग्गाको प्रयोगका साथै अर्थ तथा अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ ।
मुख्यमन्त्री यादवले भने, ‘प्रदेश सरकार गठन भएको ६ वर्ष भए पनि संवैधानिक अधिकार पाएका छैनौँ। त्यसैले, छ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छौँ ।’















Discussion about this post