जनकपुरधाम/असोज २१ गते। नेपाली कांग्रेस देउवा समूहको जनकपुरधाम उपमहानगरपालिका नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्मत चयन भएका छन्।
जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न कांग्रेसको १५औँ नगर अधिवेशनबाट साह नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
अधिवेशनले उपसभापतिमा राकेश कुमार पाठक ‘सुभाष’ र सचिवमा शिवरत्न दासलाई पनि सर्वसम्मत चयन गरेको छ। नगर समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको चयन भने पछि गरिने जनाइएको छ।
प्रत्येक वडाका अध्यक्ष नगर समितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ। नगर अधिवेशनमा जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाबाट नगर अधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
साहकै अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय उपसभापति विमलेन्द्र निधि प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कांग्रेस जिल्ला संयोजक कोमलकान्त झा, पूर्व जिल्ला अध्यक्ष स्मृति नारायण चौधरी, क्षेत्रीय सभापति तथा स्वतन्त्रता सेनानी राम भरत साहलगायतको उपस्थिति रहेको थियो।
नवनिर्वाचित नगर सभापति साहले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीचको एकता र समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।















Discussion about this post