असोज १० गते। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी एक महिनाअघि बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको शनिबार परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ।
बाराको सुवर्ण गाउँपालिका–१ स्थित तीयर नदी किनारमा परिवारजनले कुशको शव बनाएर साहको दाहसंस्कार गरेका हुन्। अन्तिम संस्कारअघि नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो।
सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोलीका साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। भदौ १० गते रसुवामा भोटेकोशी नदीमा आएको बाढीका बेला ड्युटीमा रहेका उनी त्यसपछि बेपत्ता भएका थिए।
बाढीपछि परिवार, आफन्त तथा सुरक्षा निकायबाट उनको खोजी निरन्तर गरिए पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन सकेन। शव फेला नपरेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो।
अन्तिम संस्कार कार्यक्रममा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अगुवा अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो।
साहको वास्तविक शव फेला नपरे पनि परिवारले लामो प्रतीक्षापछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो। एक महिनासम्म छोराको अवस्थाबारे पर्खाइमा रहेको परिवारका लागि शनिबारको संस्कार भावुक र पीडादायी क्षण बनेको थियो।















Discussion about this post