जनकपुरधाम/धनुषा ७ गते । मधेश प्रदेशका आठवटै यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स कार्ड) पठाइएको छ।
मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त भएका स्मार्ट लाइसेन्स कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउँदै वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै स्मार्ट लाइसेन्स कार्ड गौरस्थित यातायात व्यवस्था कार्यालयका लागि पठाइएको छ। गौरका लागि १ हजार १९१ थान कार्ड पठाइएको छ भने वीरगञ्जका लागि १ हजार १७२ थान कार्ड छुट्याइएको छ।
त्यस्तै, जनकपुरधामका लागि ९३२, लहानका लागि ४६०, बर्दिवासका लागि ३०३, राजविराजका लागि ५२, मलंगवाका लागि ३२ र कलैयाका लागि ११ थान स्मार्ट लाइसेन्स कार्ड पठाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्बन्धित यातायात व्यवस्था कार्यालयका प्रतिनिधिलाई स्मार्ट कार्ड बुझेर आवश्यक प्रक्रिया पूरा गरी सेवाग्राहीलाई वितरण गर्न निर्देशन दिएको छ। कार्ड प्राप्त भएसँगै लामो समयदेखि सवारी चालक अनुमतिपत्रको प्रतीक्षामा रहेका सेवाग्राहीलाई वितरण गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।
श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले सवारी चालक अनुमतिपत्रका लागि लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउने प्रयास भइरहेको बताइन्।
उनका अनुसार उपलब्ध स्मार्ट कार्डलाई सम्बन्धित कार्यालयमार्फत व्यवस्थित रूपमा वितरण गरी सेवाग्राहीले समयमै सेवा पाउने वातावरण निर्माण गर्न मन्त्रालयले प्राथमिकता दिएको छ।
सवारी चालक अनुमतिपत्र वितरणमा देखिँदै आएको ढिलाइका कारण सेवाग्राहीले लामो समयसम्म कार्डको प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको छ। सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर आएका कार्ड सम्बन्धित कार्यालयमा पठाएर वितरण प्रक्रिया अघि बढाइएपछि सेवाग्राहीको प्रतीक्षा केही हदसम्म घट्ने मन्त्रालयको अपेक्षा छ।
मन्त्रालयको विवरणअनुसार राजविराजमा ५२, लहानमा ४६०, बर्दिवासमा ३०३, जनकपुरधाममा ९३२, मलंगवामा ३२, गौरमा १ हजार १९१, कलैयामा ११ र वीरगञ्जमा १ हजार १७२ थान स्मार्ट लाइसेन्स कार्ड पठाइएको छ।
यसरी मधेश प्रदेशका आठवटै यातायात व्यवस्था कार्यालयमा गरी कुल ३ हजार ८१ थान स्मार्ट लाइसेन्स कार्ड वितरणका लागि पुगेका छन्।















Discussion about this post