जनकपुरधाम/साउन ३० गते । मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा नवविवाहित कन्याले विशेष श्रद्धा र उत्साहका साथ मनाउने मधुश्रावणी पर्व सम्पन्न भएको छ।
साउन कृष्णपक्षको पञ्चमीदेखि साउन शुक्लपक्षको तृतीयासम्म १५ दिन मनाइने यस पर्वमा नवविवाहित कन्याहरूले शिव, पार्वती तथा नागदेवताको पूजा गर्दै दाम्पत्य जीवन सुखमय, दीर्घायु र समृद्ध होस् भन्ने कामना गर्ने परम्परा छ।
मधुश्रावणी पर्वका लागि आवश्यक पूजा सामग्री, नयाँ कपडा, सिन्दूर, पोते, गरगहना तथा विभिन्न खाद्यान्न सामग्री बेहुलाको घर अर्थात् ससुरालीबाट माइतीमा पठाउने परम्परा रहँदै आएको छ। सोही सामग्रीबाट नवविवाहित कन्याले पर्वभरि पूजा तथा व्रतसम्बन्धी विधि पूरा गर्ने गर्दछन्।
पर्वका क्रममा नवविवाहित कन्याहरू समूहमा भेला भएर साँझपख घरनजिकका बारी, सार्वजनिक उद्यान तथा धार्मिकस्थलका फूलबारीबाट फूल टिप्ने गर्छन्। मिथिलामा फूल टिप्ने यस परम्परालाई ‘फूललोढी’ भनिन्छ। रंगीचंगी नयाँ पोसाकमा सजिएका कन्याहरू समूहमा गीत गाउँदै, हाँस्दै र रमाइलो गर्दै फूल टिप्ने दृश्यले मिथिलाञ्चलको वातावरणलाई नै उल्लासमय बनाउने गरेको छ।
फूललोढीबाट संकलन गरिएको फूल रातभरि राखेर भोलिपल्ट बिहान त्यसै बासी फूलबाट शिव, पार्वती तथा नागदेवताको पूजा गर्ने गरिन्छ। मधुश्रावणीका अवसरमा नवविवाहित कन्याहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक कथाहरू सुन्ने र परम्परागत गीत गाउने चलनसमेत रहेको छ।
पर्वको अन्तिम दिन नवविवाहित दम्पतीले सँगै बसेर विशेष पूजा गर्नुका साथै कथाइनबाट मधुश्रावणीसँग सम्बन्धित कथा सुन्ने परम्परा छ। कथा सुन्ने क्रममा नवविवाहित कन्या र बेहुलासहित परिवारका सदस्य, छरछिमेक तथा इष्टमित्रको समेत सहभागिता रहने गर्दछ।
पर्व सम्पन्न भएपछि नवविवाहित कन्याले आमाबुबा तथा घरका ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने चलन छ। मधुश्रावणी मिथिलाको मौलिक सांस्कृतिक परम्परा, पारिवारिक सम्बन्ध र नवदाम्पत्य जीवनसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा पुस्तौंदेखि मनाइँदै आएको छ।















Discussion about this post