जनकपुरधाम/साउन २६ गते । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित राम मन्दिर पछाडि ‘राजधानी फार्मेसी’को औपचारिक उद्घाटन गरिएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले रिबन काटेर फार्मेसीको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले औषधि जस्तो अत्यावश्यक वस्तु सहज, सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा आउनु सकारात्मक रहेको बताए। उनले औषधि व्यवसायमा सेवाको भावनालाई प्राथमिकतामा राख्दै गुणस्तरीय औषधि तथा उपयुक्त परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिए।
उनले जनकपुरधाममा नयाँ व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि विस्तारसँगै रोजगारी र उपभोक्तालाई सेवा दिने अवसर पनि भएको उल्लेख गर्दै राजधानी फार्मेसीले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिने विश्वास व्यक्त गरे।
फार्मेसीका सञ्चालक तथा जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष गौतम साहका अनुसार राजधानी फार्मेसीमा विभिन्न प्रकारका एलोपेथिक औषधिहरू सुपथ मूल्यमा उपलब्ध गराइनेछ।
सञ्चालक साहले जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा अनलाइनमार्फत औषधिको अर्डर लिन सकिने र ग्राहकको सुविधाका लागि निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार राजधानी फार्मेसीलाई व्यवसायमा मात्र सीमित नराखी सामाजिक सेवासँग पनि जोड्ने उद्देश्य राखिएको छ। औषधि खरिद गर्नसमेत समस्या हुने अत्यन्त विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई फार्मेसीका तर्फबाट आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
‘राजधानी फार्मेसी मेरो लागि व्यवसाय मात्रै होइन, सेवा पनि हो,’ सञ्चालक साहले भने। औषधिको अत्यधिक आवश्यकता भएका तर आर्थिक अभावका कारण खरिद गर्न नसक्ने विपन्न व्यक्तिलाई सकेसम्म सहयोग गर्ने उनको भनाइ छ।
फार्मेसीमा एलोपेथिक औषधिसहित आवश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध हुने जनाइएको छ। ग्राहकले फार्मेसीमै पुगेर वा अनलाइनमार्फत अर्डर गरेर सेवा लिन सक्नेछन्। उद्घाटन कार्यक्रममा उद्योगी, व्यवसायी, स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।















Discussion about this post