सिरहा/साउन १६ गते । सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यू आदेश शनिबार दिउँसो दुई घण्टाका लागि खुकुलो बनाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको सूचनाअनुसार दिउँसो ३ बजेदेखि ५ बजेसम्म कर्फ्यू आदेश खुकुलो बनाइएको हो। सुरक्षा अवस्थाको विश्लेषण तथा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन गर्न सहज बनाउने उद्देश्यले उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार कर्फ्यू खुकुलो भएको अवधिमा नागरिकले आवश्यक खाद्यान्न, औषधि तथा अन्य दैनिक उपभोग्य वस्तुको व्यवस्थापन गर्न सक्नेछन्। साथै, लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न सुरक्षा निकायलाई समेत निर्देशन दिइएको छ।
यद्यपि, कर्फ्यू खुकुलो बनाइए पनि पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने स्पष्ट पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न र सार्वजनिक शान्ति कायम राख्न यो व्यवस्था लागू गरिएको प्रशासनको भनाइ छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनामा कर्फ्यू खुकुलो भएको अवधिमा पनि सबै नागरिकलाई संयमित, जिम्मेवार र कानूनको पालना गर्दै गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ।
















Discussion about this post