जनकपुरधाम/साउन १२। नेपाल चिकित्सक संघ, जनकपुर शाखाले नेपाल चिकित्सक संघको केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै साउन १२ गते (मंगलबार) शाखाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका सबै अस्पताल, स्वास्थ्य संस्था, पोलिक्लिनिक तथा क्लिनिक बन्द गरी आन्दोलनमा सक्रिय, अनुशासित र एकताबद्ध रूपमा सहभागी हुन सम्पूर्ण चिकित्सकलाई आग्रह गरेको छ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालभित्र तोडफोड तथा त्यसपछि आफ्ना सहकर्मीको सुरक्षाको माग गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका चिकित्सकमाथि राज्य संयन्त्रबाट भएको दुव्र्यवहारको कडा भर्त्सना गरिएको छ। संघले उक्त घटनालाई दुःखद, निन्दनीय तथा अस्वीकार्य भएको उल्लेख गर्दै यसले सम्पूर्ण चिकित्सक समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको जनाएको छ।
विज्ञप्तिअनुसार नेपाल चिकित्सक संघको केन्द्रीय समितिको निर्णयबमोजिम साउन १२ गते (मंगलबार) देशभर आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द रहनेछ। यससँगै जनकपुर शाखाअन्तर्गतका सबै अस्पताल, स्वास्थ्य संस्था, पोलिक्लिनिक तथा क्लिनिकहरूमा पनि आकस्मिक सेवाबाहेकका सेवा बन्द गरी आन्दोलनलाई पूर्ण समर्थन गरिने जनाइएको छ।
संघले जनकपुरधाम तथा शाखाअन्तर्गतका सम्पूर्ण चिकित्सकलाई आन्दोलनमा सक्रिय, अनुशासित र एकताबद्ध रूपमा सहभागी हुन आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा यो आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान, कानुनी संरक्षण र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले गरिएको स्पष्ट पारिएको छ। आज चिकित्सकमाथि हुने आक्रमणविरुद्ध सबै एकजुट हुन नसके भविष्यमा कुनै पनि स्वास्थ्य संस्था सुरक्षित रहन नसक्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
नेपाल चिकित्सक संघ, जनकपुर शाखाले चिकित्सक समुदाय, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, नागरिक समाज तथा आम जनसमुदायलाई पनि यस न्यायपूर्ण आन्दोलनप्रति नैतिक समर्थन र ऐक्यबद्धता जनाउन हार्दिक अनुरोध गरेको छ।
नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. राम ज्ञान यादव र महासचिव डा. विजय कुमार साह द्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत उक्त धारणा सार्वजनिक गरिएको हो।
















Discussion about this post