जनकपुरधाम/ साउन ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका छन् । उनले प्रदेशस्तरमा समेत नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत गरेका छन् ।
दुईदिने मधेश प्रदेश भ्रमणका क्रममा मंगलबार जनकपुरधाम आइपुगेका प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अघि बढिसकेको बताए ।
तीन दलबीचको समझदारी सकिएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यस विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिए । नेपाली कांग्रेससँग पनि संवाद भइरहेको उल्लेख गर्दै केही दिनभित्रै राजनीतिक अवस्थाको टुंगो लाग्ने बताए ।
जनकपुरधामबाट उनी महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथिको कार्यक्रममा सहभागी भएका थिए । जनकपुरधाममा आज मधेश प्रदेशका पार्टी नेताहरूसँग राजनीतिक छलफल गर्ने कार्यक्रम रहेको छ ।
पार्टी स्रोतका अनुसार छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा बन्ने सम्भावित नयाँ राजनीतिक समीकरण, त्यसको मधेश प्रदेशको राजनीतिमा पर्ने प्रभाव, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा केन्द्रित हुनेछ । बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टी संगठनलाई थप एकीकृत र सक्रिय बनाउने विषय पनि छलफलको एजेन्डामा रहेको जनाइएको छ ।
प्रचण्डले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व तथा पार्टीका जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।















Discussion about this post