जनकपुरधाम/श्रावण ३ गते। जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सवाललाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले बहु–सरोकारवाला मञ्च बैठक सम्पन्न भएको छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ, नेपालद्वारा आइतबार आयोजित ‘प्राइड परियोजना’ अन्तर्गतको बहु–सरोकारवाला मञ्च बैठकमा समुदायका समस्या, अधिकार, नीति सुधार तथा सरोकारवालाबीचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको हो।
बैठकमा महासंघकी प्रतिनिधि सिमरण सेरचनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग सम्बन्धित विषयमा नैतिक, समावेशी तथा मानवअधिकारमैत्री दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले समुदायका सदस्यले भोगिरहेका विभेद, सेवामा पहुँच, नीति निर्माणमा सहभागिता तथा सामाजिक स्वीकार्यताका विषयमा सरोकारवालालाई जानकारी गराउँदै साझा प्रयासको आवश्यकता रहेको बताउनुभयो।
प्रस्तुतिका क्रममा बहु–सरोकारवाला मञ्च स्थापनाको उद्देश्यबारे जानकारी दिँदै LGBTQIA+ समुदायका आवश्यकता र सवाललाई सामूहिक रूपमा उठाउने, समुदाय र सरोकारवालाबीच निरन्तर संवाद बढाउने, समुदायले सामना गरिरहेका समस्याबारे विस्तृत जानकारी आदान–प्रदान गर्ने तथा नीति, कार्यक्रम, राजनीतिक सहभागिता र सेवामा पहुँच सुधार गर्ने लक्ष्य रहेको उल्लेख गरिएको थियो। साथै आउन लागेको स्थानीय र प्रदेशको चुनावमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई पार्टीमा समावेश गरी जनप्रतिनिधिको रुपमा अगाडि बढाउने सवाल सहयोग गर्नुपर्नेमा जोड दिईएको छ।
त्यसैगरी मञ्चको भूमिकाअन्तर्गत समुदायका प्रमुख मुद्दा पहिचान गर्ने, समस्याको व्यावहारिक समाधान खोज्ने, नीति सुधारका लागि सशक्त वकालत गर्ने, सरोकारवालाबीच नियमित छलफललाई निरन्तरता दिने तथा साझा प्रयास र कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, मानवअधिकार आयोग, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र, नेपाल प्रहरी तथा LGBTQIA+ समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समुदायका अधिकार संरक्षण, सामाजिक समावेशिता तथा सबै नागरिकले समान अवसर र सम्मान प्राप्त गर्ने वातावरण निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न ईन्सेकका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,सञ्चारकर्मीहरु तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।















Discussion about this post