सञ्जय मिश्रा/रौतहट/असार ३१ गते। जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ विशेष अभियानअन्तर्गत मंगलबार विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये पाँच जना चेक अनादर मुद्दाका फरार प्रतिवादी हुन्। उनीहरूमा विषुन्द्र साह, विवेक मणि यादव, विकास कुमार, आशनारायण साह र रतेश कुमार मिश्र रहेका छन्।
यस्तै, चोरी तथा डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका लक्ष्मी प्रसाद चौधरीलाई चार फरक मुद्दाको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको २ वर्ष कैद सजाय तथा २७ हजार जरिवाना कार्यान्वयनका लागि मंगलबार नै जिल्ला अदालत रौतहटमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।















Discussion about this post