काठमाडौं/असार २५ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनको प्रक्रिया नागरिकले प्राप्त गरेका अधिकारहरूलाई संकुचित गर्न नभई तिनलाई थप विस्तार, सुदृढ र गहिरो बनाउन केन्द्रित हुनुपर्ने बताएका छन्।
‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री थापाले संविधान जारी भएको करिब एक दशक पुग्न लागेको सन्दर्भमा यसको पुनरावलोकन स्वाभाविक र स्वागतयोग्य भएको उल्लेख गरे। संविधानले नै समयसापेक्ष पुनरावलोकनको परिकल्पना गरेको भन्दै उनले नागरिकका अधिकारको दायरा बढाउने गरी गरिने संशोधन आवश्यक रहेको धारणा राखे।
थापाले भने, ‘नागरिकहरूले प्राप्त गरेका अधिकारहरूलाई संकुचित गर्ने होइन, थप फैलाउने, विस्तार गर्ने र गहिरो बनाउने सन्दर्भमा संविधान संशोधन गरौँ भन्ने कुरा आफैंमा स्वागतयोग्य हो। संविधानसभामार्फत जारी भएको संविधानको १० वर्ष पुग्न लागेको छ, कतिपय विषयमा संघीय संसद्ले पुनरावलोकन गर्नुपर्ने व्यवस्था पनि छ।’
संविधान संशोधनको बहसलाई अघि बढाउँदा संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि र यसको मर्मलाई ख्याल गर्नुपर्नेमा उनले जोड दिए। सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन कठिन परिस्थितिमा संविधान निर्माण भएको स्मरण गराउँदै उनले संविधानप्रति व्यापक अपनत्व र स्वामित्व स्थापित गर्न राज्यले समय-समयमा विभिन्न आन्दोलनरत पक्षहरूसँग गरेका सम्झौताहरूलाई बिर्सन नहुने बताए।
‘हामी दुई-तीनवटा कुरामा प्रारम्भमै सचेत हुनुपर्छ। संविधानमाथि आम अपनत्व र स्वामित्व स्थापित गर्न राज्यले विभिन्न आन्दोलनहरूसँग सम्झौता गरेको छ,’ उनले भने। संविधान संशोधनको बहस गर्दा ऐतिहासिक पृष्ठभूमि, भएका राजनीतिक सहमति र नागरिक अधिकारको संरक्षणलाई सधैँ केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ।















Discussion about this post