जनकपुरधाम/असार २४ गते। झापाको दमकको लिड नेपाल संस्था द्वारा सञ्चालित “Breaking Barriers: Enhancing LGBTIQ+ Leadership and Representation in Nepali Politics” परियोजना अन्तर्गत Establish and Strengthen Federal and Provincial GSM/LGBTIQ+ एड्भोकेसी समुह कार्यक्रम अन्तर्गत मधेस प्रदेशस्तरीय सरोकारवालासँग GSM/LGBTIQ+ एडभोकेसी समूह गठन तथा सुदृढीकरण कार्यक्रम जनकपुरस्थित होटल जानकी स्टारमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच साझा बुझाइ विकास गर्नु, समुदायका मुद्दालाई नीति निर्माण तहसम्म पुर्याउने संयन्त्र निर्माण गर्नु तथा प्रदेशस्तरमा प्रभावकारी पैरवी समूह गठन गर्नु रहेको थियो।
कार्यक्रममा जनकपुर उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख सुनिल कुमार झाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशिता प्रवर्द्धनका लागि सञ्चालन भइरहेको Breaking Barriers परियोजना समुदायका सदस्यहरूलाई नीति निर्माण तहसम्म पुर्याउने दिशामा एक महत्त्वपूर्ण पहल भएको बताउनुभयो। उहाँले स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य गर्दै समुदायका अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी जनकपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख स्वर्य शाहले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, समावेशी राजनीति तथा नीति निर्माण प्रक्रियामा सहभागिता बढाउन यस परियोजना ले निरन्तर सकरात्मक काम गर्ने सक्ने र Breaking Barriers परियोजनामार्फत समुदायका वास्तविक मुद्दा, समस्या र आवश्यकताको प्रभावकारी पैरवी हुने तथा समुदायको तर्फबाट नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नु भएको थियो र उहाँले यौनिक तथा समुदायको परिभाषा स्पष्ट हुने कुरामा पनि आफ्नो मत दिनुभएको थियो ।
कार्यक्रममा अधिवक्ता सुजित यादवले नेपालको संविधानमा रहेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित संवैधानिक तथा कानुनी व्यवस्था र कुन सात सात प्रदेश मध्ये कुन प्रदेशमा प्रदेशमा काम गर्न धेरै चुनौती भएको र संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि यस्ता एडभोकेसी समूह अत्यन्त आवश्यक रहनेछ भन्ने कुरा हरु पनि बताउनुभयो। उहाँले समुदायको अधिकार स्थापित गर्न कानुनी पैरवी र नीतिगत हस्तक्षेपको आवश्यकता औंल्याउनुभयो।
लिड नेपालका कार्यकारी निर्देशक तथा परियोजना प्रमुख नुमा लिम्बु चञ्चलाले संस्थागत परिचयसँगै Breaking Barriers परियोजनाको उद्देश्य, प्रमुख उपलब्धि तथा विभिन्न आउटपुटहरूबारे विस्तृत प्रस्तुतीकरण गर्नुभयो। उहाँले परियोजनाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको नेतृत्व विकास, राजनीतिक सहभागिता, नीति पैरवी तथा समावेशी लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो।
त्यसैगरी लिड नेपालका प्रदेशीय एक्टिभिस्ट सुशील पौडेलले मधेस प्रदेशस्तरीय GSM/LGBTIQ+ एडभोकेसी तथा पैरवी समूहको अवधारणा, उद्देश्य, भूमिका र जिम्मेवारीबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले यस्तो समितिले प्रदेशस्तरमा समुदायका सवालहरू उठाउने, सरकारी निकायसँग समन्वय गर्ने, नीति निर्माण प्रक्रियामा समुदायको सहभागिता बढाउने तथा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रस्तुतीकरणपछि सहभागीहरूबीच समूहगत छलफल सम्पन्न भएको थियो।
छलफलपश्चात महिला तथा बालबालिका शाखा प्रमुख स्वर्य शाहको संयोजनमा मधेस प्रदेशस्तरीय GSM/LGBTIQ+ एडभोकेसी तथा पैरवी समिति गठन गरिएको छ। समितिको अध्यक्षमा शम्भु यादव, उपाध्यक्षमा परशुराम चौधरी, सचिवमा हुसेन अन्सारी तथा सदस्यहरूमा सञ्जय सिंह, रमेश कुमार शर्मा र सरोज मल्लिक चयन हुनुभएको छ। समितिमा विभिन्न क्षेत्रका प्रतिनिधित्व सुनिश्चित गर्दै अन्य २० जना साधारण सदस्य समेत समावेश गरिएको छ।
नवगठित समितिले मधेस प्रदेशमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दाहरूको प्रभावकारी पैरवी गर्ने, सरकारी निकायसँग समन्वय बढाउने, समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व अभिवृद्धि गर्ने तथा नीति निर्माण तहमा समुदायको आवाजलाई सशक्त रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, कानुन व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक लिड नेपालका अनुसार यस प्रकारका एडभोकेसी समूहहरू गठन गर्दै संघीय तथा प्रदेश स्तरमा समुदायको राजनीतिक नेतृत्व, प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्न परियोजनाले आगामी दिनमा थप प्रभावकारी रूपमा कार्य अगाडि बढाउनेछ।















Discussion about this post