धनुषा/असार २२ गते। मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट (रेड बुक) मा युवासम्बन्धी कार्यक्रम र बजेट पूर्ण रूपमा उपेक्षा गरिएको भन्दै युवाहरूले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन्।
युवा अभियन्ता मो. नइम राईनको नेतृत्वमा गएको युवाहरूको एक प्रतिनिधिमण्डलले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी मुख्यमन्त्रीलाई सो ज्ञापनपत्र हस्तान्तरण गरेको हो । मधेश प्रदेशको कुल जनसंख्याको करिब ४० प्रतिशतभन्दा बढी हिस्सा युवाहरूले ओगटेको भए पनि आगामी आर्थिक वर्षको बजेटको ‘रेड बुक’ मा युवासम्बन्धी कुनै पनि बजेट नसमेटिएको भन्दै युवाहरू आन्दोलित भएका हुन्। खासगरी प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत युवा महाशाखा रहेको भए तापनि उक्त शाखा अन्तर्गत युवासम्बन्धी एउटा पनि शीर्षकमा बजेट नछुट्याइएको प्रति युवाहरूले घोर आपत्ति जनाएका छन्। नीति र योजनामा युवालाई प्राथमिकतामा राखिए पनि बजेटमा एउटा पनि शीर्षक नहुनुले सरकारको गैरजिम्मेवारपन छताछुल्ल भएको ज्ञापनपत्रमा उल्लेख छ ।
युवा टोलीले मुख्यमन्त्रीलाई यो बजेट (रेड बुक) प्रदेश सभाबाट पास गर्नुभन्दा अगाडि नै तत्काल संशोधन गरी युवाका मागहरू सम्बोधन गरेर मात्रै पास गर्न जोडदार अनुरोध गरेको छ।
ज्ञापनपत्र मार्फत युवा अभियन्ताहरूले मुख्यमन्त्री समक्ष निम्न मुख्य मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। बजेट संशोधन गरी बजेट विनियोजन: रेड बुक पास हुनु अगावै आर्थिक वर्ष २०८३/०८४ को बजेट संशोधन गरी खेलकुद तथा समाज कल्याण मन्त्रालयको युवा शाखा र अन्य युवा लक्षित कार्यक्रमहरूका लागि छुट्टै र पर्याप्त बजेट विनियोजन गरियोस्,प्रदेश युवा नीति कार्यान्वयन: प्रदेश युवा नीतिको मस्यौदालाई शीघ्र स्वीकृत गरी कार्यान्वयनका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरियोस् , प्रदेश युवा परिषद् गठन: लामो समयदेखि माग गरिँदै आएको प्रदेश युवा परिषद् गठन प्रक्रियालाई तत्काल अगाडि बढाई संरचनागत व्यवस्था र बजेट तय गरियोस् र नेतृत्व र उद्यमशीलता विकास: युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्वयंसेवा, उद्यमशीलता, नवप्रवर्तन तथा सामाजिक रूपान्तरणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरियोस्।
ज्ञापनपत्र बुझाउँदै युवा अभियन्ता मो. नइम राईनले मधेश प्रदेशका लाखौँ युवाहरूको भविष्य र अवसरसँग खेलबाड नगर्न चेतावनी दिँदै रेड बुक पास हुनु अगावै बजेट सच्याउन माग गर्नुभयो। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले युवाहरूले उठाएका माग र बजेटमा देखिएको सन्तुलनहीनता प्रति ध्यानाकर्षण भएको बताउँदै बजेट पास हुनु अगाडि नै आवश्यक संशोधन र समन्वयका लागि पहल गर्ने आश्वासन दिएका छन ।

















Discussion about this post