काठमाडौं/असार २० गते । इजिप्ट फिफा विश्वकप २०२६ मा अन्तिम १६ मा पुगेकाे छ ।
विश्व फुटबलले पाएको सर्वोत्कृष्ट विंगरमध्ये एक मोहम्मद सालाहको प्रेरणादायी नेतृत्वमा इजिप्टले शुक्रबार अन्तिम ३२ को प्रतिस्पर्धामा अस्ट्रेलियाको चुनौती पन्छायो । टोलीले पेनाल्टी सुटआउट ‘सर्भाइभ’ गर्यो । एटी एन्ड टी रंगशालामा अस्ट्रेलिया ४-२ ले निराश बन्यो । त्यसअघि निर्धारित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।
अस्ट्रेलियाको हारसँगै विश्वकपको २३औं संस्करणमा एसियाली राष्ट्रको चुनौती सकिएको छ । उता ऐतिहासिक पहिलो नकआउट जित हासिल गरेको इजिप्ट अन्तिम १६ पुग्ने दोस्रो अफ्रिकी टोली बन्यो । इजिप्टअघि मोरक्कोले पनि अन्तिम ३२ मा विपक्षी नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो । केप भेर्डे र घानाको चुनौती अझै सकिएको छैन ।
इजिप्टले खेलको १३औं मिनेटमा विंगर इमाम अशोउरको गोलमा अग्रता लिएको थियो । तर, त्यसपछिको १०० मिनेट टोलीले १४ सट्सका बावजुद बललाई जाली चुमाउन सकेन । बरु ५५औं मिनेटमा राइटब्याक मोहम्मद ह्यानीले आत्मघाती गोल गर्दा अस्ट्रेलिया खेलमा फर्कियो ।
इजिप्टले अन्तिम १६ मा अर्जेन्टिनासँग खेल्नेछ ।





















Discussion about this post