जनकपुरधाम/असार १७ गते। आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रतिपक्षी दलको अवरोधपछि मधेश प्रदेशसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो। बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी सांसदहरूले बजेटमा समावेश गरिएका केही योजनाप्रति असन्तुष्टि जनाउँदै संशोधनको माग गरेका थिए। त्यसपछि सभामुख रामअशिष यादवले सहमतिको प्रयासका लागि बैठक केही समय स्थगित गरेका थिए।
दलहरूबीच भएको छलफलबाट सहमति कायम हुन नसकेपछि बैठक पुनः सञ्चालन हुन सकेन। त्यसपछि सभामुख यादवले बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।
मधेश प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। उक्त बजेटमाथि बुधबारदेखि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यतालिका तय गरिए पनि प्रतिपक्षीको विरोधका कारण प्रक्रिया अघि बढ्न सकेन।
प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममा एक करोड रुपैयाँभन्दा कम लागतका योजना समावेश नगर्ने प्रतिबद्धता व्यक्त गरिए पनि बजेटमा पाँच लाख रुपैयाँसम्मका योजनासमेत राखिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले यस्तो व्यवस्थाले नीति र बजेटबीच असंगति देखिएको दाबी गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रस्तुत बजेट संघीयताको मूल मर्मअनुकूल नभएको टिप्पणी गरे। एउटै योजनाअन्तर्गत विभिन्न वडा, स्थानीय तह र फरक–फरक जिल्लाका योजनाहरू समावेश गरिएकाले बजेट कार्यान्वयनमा जटिलता उत्पन्न हुने उनको भनाइ थियो।
प्रतिपक्षी दलहरूले बजेटका विवादित बुँदामा संशोधन गर्न माग गर्दै आएका छन्। दलहरूबीच सहमति जुटेपछि मात्रै प्रदेशसभामा बजेटमाथिको छलफल अगाडि बढ्ने अपेक्षा गरिएको छ।





















Discussion about this post