सञ्जय मिश्रा/रौतहट/असार १० गते। रौतहट प्रहरीले चोरी भएको करिब ३० मिनेटभित्रै मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गर्न सफल भएको छ। प्रहरीको तीव्र सक्रियता र समयमै गरिएको निगरानीका कारण चोरी भएको सवारी साधन तत्काल फेला परेको हो।
पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि शंकर प्रसाद आचार्य ले बताएका छन्।उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो।
डिएस्पी आचार्यका अनुसार बुधबार साँझ करिब ६ः३० बजे गरुडा नगरपालिका–४ धर्मपुर स्थित एक घर अगाडि पार्किङ गरी राखिएको बा।प्र।०२–०४१ प ३८४९ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल चोरी भएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धर्मपुरबाट खटिएको टोलीले सम्भावित भाग्ने मार्गको निगरानी बढाएको थियो।
विशेषगरी धर्मपुर गाउँबाट बाहिरिने एकमात्र पुलमा कडा चेकजाँच सञ्चालन गर्दा साँझ ७ बजेतिर चोरी भएको मोटरसाइकलसहित दुवै युवकलाई पक्राउ गरिएको डीएसपी आचार्यले जानकारी दिएका छन्।
पक्राउ परेका दुवै जनाविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। हिजो बिहिवार जिल्ला अदालत रौतहटबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बलन्त गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सामान्यतया चोरी भएका सवारी साधन फेला पार्न लामो समय लाग्ने गरेको अवस्थामा रौतहट प्रहरीले आधा घण्टाभित्रै मोटरसाइकल बरामद गर्न सफल हुनु सुरक्षा संयन्त्रको प्रभावकारी परिचालनको उदाहरणका रूपमा हेरिएको छ। घटनापछि सम्भावित नाकाहरूमा तत्काल निगरानी बढाउने रणनीतिले सकारात्मक परिणाम दिएको देखिन्छ।
स्थानीयवासीले समेत प्रहरीको तत्परताको प्रशंसा गर्दै यस्ता गतिविधिले चोरी तथा अन्य आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्ने विश्वास व्यक्त गरेका छन्।





















Discussion about this post