धनुषा/बैशाख २३ गते । मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। साथसाथ सिकाई सञ्जाल धनुषाको आयोजनामा तथा कोक्याप (COCAP) को सहकार्यमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार रक्षकहरूको अवस्था, चुनौती, सवाल तथा सरोकारवालाहरूको भूमिकाबारे केन्द्रित छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता साथसाथ सिकाई सञ्जाल धनुषाकी अध्यक्ष रिंकु कुमारी साहले गरेकी थिइन् भने मधेश प्रदेश सभा सदस्य रूपा यादव प्रमुख अतिथिको रूपमा सहभागी भएकी थिइन् । प्रमुख अतिथि यादवले कार्यक्रमको उद्घाटन गर्दै समाजमा मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि शिक्षाको स्तर अझै सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले शिक्षित समाजले मात्रै मानव अधिकारको महत्व बुझ्न सक्ने र अधिकार संरक्षणका लागि सचेत भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह तथा उपमेयर किशोरी साह विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए । उनीहरूले मानव अधिकार रक्षकहरूले समाजमा खेलेको भूमिकाको प्रशंसा गर्दै अधिकार संरक्षणका लागि स्थानीय तह सधैं सकारात्मक रहेको बताएका थिए ।
छलफल कार्यक्रममा ईन्सेकका प्रमुख राजु पासमानले मानव अधिकार रक्षकहरूले भोगिरहेका समस्या, चुनौती तथा वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । उनले अधिकारकर्मीहरू विभिन्न समयमा सामाजिक, मानसिक तथा प्रशासनिक दबाबमा काम गर्न बाध्य भइरहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा, सम्मान र काम गर्ने वातावरण सुनिश्चित गर्न राज्य तथा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, महिला अधिकारकर्मीहरु,सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार रक्षकहरूको संरक्षण, उनीहरूको क्षमता अभिवृद्धि तथा प्रभावकारी समन्वयमार्फत समाजमा मानव अधिकारको अवस्था सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको संचालक आरती मण्डलले गरेकी थिईन। कार्यक्रममा सहभागीहरूले मानव अधिकारको संरक्षण केवल एक समूह वा संस्थाको दायित्व नभई राज्य, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिक सबैको साझा जिम्मेवारी भएको बताएका छ्न ।























Discussion about this post