धनुषा/बैशाख ११ गते। सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव आगामी जेठ १ देखि ३ गतेसम्म जनकपुरधामस्थित निधि भवनमा आयोजना हुने भएको छ ।
नव मिथिला फाउन्डेसनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महोत्सवको औपचारिक मिति घोषणा गरेको हो । यसअघि २०८२ सालको माघ २२ देखि २४ गतेसम्म महोत्सव गर्ने तयारी गरिएको भए पनि देशमा विकसित असामान्य परिस्थिति र प्रतिनिधिसभा निर्वाचनका कारण मिति सार्नुपरेको आयोजकले जनाएको छ ।
फाउन्डेसनले महोत्सवको निरन्तरता कायम राख्दै कार्यक्रम जेठमा आयोजना गर्न लागिएको स्पष्ट पारेको छ । फाउन्डेसनका अध्यक्ष अमित साहका अनुसार साहित्य, भाषा र संस्कृतिको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । उनका अनुसार महोत्सवमा साहित्यिक तथा सांस्कृतिक पहिचानसँगै समसामयिक राजनीति, समाज, अर्थतन्त्र, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता विषयमा पनि छलफल हुने गर्छ ।
यसले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै बाहिरी क्षेत्रका साहित्यकार तथा संस्कृतिकर्मीलाई जनकपुरधामसँग परिचित गराउने मञ्चको रूपमा काम गर्दै आएको उनको भनाइ छ ।
आयोजकका अनुसार यस वर्ष पनि महोत्सवलाई विविध विचार, सिर्जना र सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।














Discussion about this post