धनुषा/चैत १५ गते। जनकपुरधाममा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा वडा नं. २३ ले वडा नं. १८ लाई ७ रनले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेल अन्तिमसम्म रोमाञ्चक रह्यो।
खेलमा टस वडा नं. १८ ले जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङका लागि मैदान उत्रिएको वडा नं. २३ ले उत्कृष्ट प्रदर्शन गर्दै १२८ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्यो। टोलीका मनीष महतोले ५३ रन (५० बल) को शानदार अर्धशतकीय पारी खेले भने खुर्शदले २९ रन (३३ बल) जोड्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए।
वडा नं. १८ का बलरहरूले पनि राम्रो प्रयास गरेका थिए। अमन मण्डलले ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरे भने सन्दीपले ३ विकेट हात पारे। १२८ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको वडा नं. १८ ले संघर्षपूर्ण ब्याटिङ गरे पनि १२१ रनमै सीमित हुन पुग्यो। टोलीका छोटूले ३५ रन (२४ बल) को आक्रामक पारी खेले भने सुनिलले १८ रन (१३ बल) योगदान दिए। अन्य ब्याट्सम्यानहरूले अपेक्षाअनुसार साथ दिन नसक्दा टोली लक्ष्यभन्दा ७ रनले पछि रहन पुग्यो।
बलिङतर्फ वडा नं. २३ का जियाउलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने गोविन्दले २ विकेट हात पारे। उनीहरूको अनुशासित बलिङले टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो। खेलको उत्कृष्ट प्रदर्शनका लागि वडा नं. २३ का मनीष महतोलाई “म्यान अफ द म्याच” घोषित गरिएको थियो। उनले उत्कृष्ट अर्धशतक बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए। उक्त म्यान अफ द म्याच पुरस्कार सरसफाई अभियानी पुष्प राज कुँवर तथा निबर्तमान जिल्ला समन्वय समिति अध्यक्ष दीपक कुमार झा ज्यूँद्वारा संयुक्त रूपमा प्रदान गरिएको थियो।
यस हारसँगै वडा नं. १८ प्रतियोगिताबाट बाहिरिएको छ भने वडा नं. २३ विजयी हुँदै अर्को चरणमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आगामी खेलहरू अझ रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका छन् । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नकआउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्डअनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।














Discussion about this post