धनुषा/चैत ८ गते । जनकपुरधाममा ६ दिने बेसिक ग्राफिक्स डिजाइनिङ सम्बन्धी तालिम सम्पन्न भएको छ। युवाहरूको डिजिटल सीप अभिवृद्धि गर्ने उद्देश्यले डाइनामिक पब्लिक लाइब्रेरी जनकपुरधामको आयोजनामा तथा लियो क्लब अफ जनकपुरधाम क्यापिटल र राजर्षी जनक विश्वविद्यालयको समन्वयमा तालिम सञ्चालन गरिएको थियो।
आयोजकका अनुसार तालिम चैत २ गतेदेखि ७ गतेसम्म राजर्षी जनक विश्वविद्यालय अन्तर्गतको कलेजमा सञ्चालन गरिएको थियो। तालिममा सहभागी युवाहरूलाई ग्राफिक्स डिजाइनिङको आधारभूत ज्ञान, डिजाइनका सिद्धान्त, पोस्टर डिजाइन तथा विभिन्न डिजिटल सामग्री निर्माणसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
समापन सत्रमा प्रमुख अतिथिका रूपमा उपस्थित लालकिशोर साहले यस्ता तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बनाउने बताउँदै सीपमूलक शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गरे। उनले भने, “आजको युग डिजिटल प्रविधिको युग हो, त्यसैले युवाहरूले समयअनुसारको सीप सिक्नुपर्छ। यस्ता तालिमले रोजगारी सिर्जना गर्न मात्र होइन, आफ्नै काम सुरु गर्ने आत्मविश्वास समेत बढाउँछ।”
उनले स्थानीय तह, शैक्षिक संस्था र सामाजिक संघ–संस्थाबीचको सहकार्यले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सकिने धारणा समेत व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्याम्पस प्रमुख डा. सन्तोष कुमार कर्णको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता मनोज साहले गरेका थिए। साथै अतिथिमा लियो क्लब अफ जनकपुरधाम क्यापिटलका अध्यक्ष विकास साहको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा सहभागी युवाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। त्यस्तै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो भने सहयोगी संस्थाहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
उक्त तालिमले स्थानीय युवाहरूमा डिजिटल दक्षता र सिर्जनशीलता अभिवृद्धि गर्दै भविष्यमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।














Discussion about this post