धनुषा/फागुन १४ गते। निल हिरा समाजले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका समस्याबारे स्थानीय सरकार र सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सामाजिक न्याय र समावेशीकरणका विषयमा स्थानीय तहमा पहिचानअनुसारको नागरिकता सिफारिस, विवाह दर्तामा सहजता तथा बजेटमा सीपमूलक कार्यक्रमहरू समावेश गर्नुपर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले देश र समाजबाट भोग्दै आएको विभेद, सामाजिक बहिष्करण, पहिचानसम्बन्धी जटिलता, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा पहुँचका समस्या लगायतका मुद्दामा विस्तृत चर्चा भयो। सहभागीहरूले समुदायप्रति संवेदनशील नीति निर्माण, सेवा प्रवाहमा सहजता र अधिकार सुनिश्चितताका लागि स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियामा खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस प्रदेशका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख, वडा नं. १, ३, ५, ९, १०, ११, १२, १३ र १४ का वडा अध्यक्ष तथा प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि, जिल्ला अदालत धनुषाका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यकप्रति हुने विभेद अन्त्य गर्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन, सेवा प्रदायक निकायमा लैङ्गिक विविधताबारे तालिम तथा समावेशी विकासका कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे। स्थानीय सरकारका प्रतिनिधिहरूले समुदायका मुद्दा सुन्ने, समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए।
आयोजकका अनुसार यस्ता संवादात्मक कार्यक्रमहरूले सरोकारवाला निकायबीच समझदारी बढाउने, सेवा प्रणालीलाई समावेशी बनाउने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका वास्तविक आवश्यकताहरू नीति तहसम्म पुर्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
















Discussion about this post