धनुषा । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यका साथ ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू भएको छ ।
संवाद फाउण्डेशनको आयोजनामा यही फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा सञ्चालन हुने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० चलचित्र प्रदर्शन, समूहगत छलफललगायत गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिएका छ्न ।
उनले भने , “जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी हाम्रो सभ्यता र संस्कृति विश्वलाई देखाउन र बुझाउन चाहन्छौँ । यो महोत्सवले मैथिली भाषालाई नेपाली चलचित्रसँग जोड्ने छ ।” उहाँले नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण, युवा चलचित्रकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिएका छ्न ।
महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा राजर्षिजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले महोत्सवले चलचित्रमा आफ्नो भविष्य देख्नेलाई गन्तव्य दिने बताए । “हामीले आफ्नो पाठ्यक्रममा चलचित्रलाई राखेर यससम्बन्धी रुची राख्नेलाई शिक्षा दिन छलफल गरिरहेका छौँ । यस किसिमका महोत्सवले हामीलाई नेपालमा बनेका चलचित्रसँगै विश्वभर बनिरहेका चलचित्रको बारेमा जानकारी दिन्छ । साथै, स्वदेशीसँगै विदेशी चलचित्रकर्मी ल्याएर यहाँ जनकपुरमा कार्यक्रम गर्नु पर्यटकीय हिसाबले हामीलाई फाइदा पुगेको छ”, उनले भने।




















Discussion about this post