धनुषा/फागुन ८ गते। मैथिली विकास कोष को आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र राजर्षिजनक विश्वविद्यालय सहितका निकायको सह–आयोजनामा आयोजित चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ सम्पन्न भएको छ।
महोत्सवलाई मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिमा युवा पुस्ताको आकर्षण बढाउने लक्ष्यसहित विद्यालय केन्द्रित बनाइएको थियो। उपमहानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेख्य तथा सक्रिय सहभागिताले कार्यक्रमलाई उत्साहजनक बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत विद्यालय स्तरीय नृत्य, वक्तृत्व, चित्रकला तथा कविता प्रतियोगिता सम्पन्न भएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय तथा तृतीय विद्यालय तथा विद्यार्थीहरूलाई दोसल्ला ओढाएर शिल्ड, कप, नगद र सम्मानपत्र प्रदान गरिएको थियो। विजेताहरूलाई मधेश प्रदेशका प्रदेश प्रमुख प्रा. डा. सुरेन्द्र लाभ कर्ण र उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह लगायतले संयुक्त रूपमा सम्मान गर्नुभयो।
समापन समारोह कोषका अध्यक्ष जीवनाथ चौधरी को अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, कोषका सदस्य नित्यानन्द मण्डल, सदस्य सचिव श्यामसुन्दर शशी, पूर्व मन्त्री रामसरोज यादव लगायतले महोत्सवका उपलब्धि, प्रभाव र भविष्यका योजनाबारे धारणा राख्नुभयो। वक्ताहरूले महोत्सवले मैथिली कला–संस्कृतिको प्रवर्द्धनसँगै युवा प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेलेको बताए।
चार दिवसीय अन्तर्राष्ट्रिय नाट्य खण्डमा नेपाल–भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका साथै आर्थिक र सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिने विद्वान, विदुषी तथा कलाकारहरूको सहभागिता रहेको थियो। यस संस्करणमा २० विभिन्न समसामयिक विषयहरूमा विमर्श आयोजना गरिएको कोषले जनाएको छ।
कोषले यसअघि २०७३, २०७५, २०७८ र २०८० मा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफलतापूर्वक आयोजना गरिसकेको छ। यसपटकका सबै कार्यक्रमहरू कोषको आफ्नै भवन परिसर, जनकपुरधाम वडा नं. ८, सीताकुण्ड स्थित क्षेत्रमा सम्पन्न भएका थिए।
आयोजकका अनुसार, महोत्सवले मैथिली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्नुका साथै विद्यालय तहका विद्यार्थीमा सिर्जनात्मकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएको छ।





















Discussion about this post