धनुषा/माघ २८ गते । नेपाली राजनीतिमा पछिल्लो समय ‘जेन जी’ (नयाँ पुस्ता) को सक्रियता बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव मधेसको राजनीतिमा देखिएको छ ।
यसै क्रममा कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई समर्थन गर्दै ६० भन्दा बढी जेनजी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधवार जनकपुरस्थित ‘निधि निवास’ मा आयोजित एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा आबद्ध ६० जनाभन्दा बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । निर्वाचनको मुखमा यति ठूलो संख्यामा युवाहरू पार्टी प्रवेश गर्नुलाई मधेसको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
गगन थापाको प्रभाव र युवा विश्वास
पार्टी प्रवेश गर्ने युवाहरूले केन्द्रमा महामन्त्री गगन थापाको उदय र युवा एजेन्डाप्रतिको स्पष्टताले आफूहरूलाई कांग्रेसप्रति आकर्षित गरेको बताएका छन् । देशमा चलिरहेको ‘जेन जी’ आन्दोलन र पुराना दलहरूभित्र भइरहेको पुस्तान्तरणको बहसका बीच कांग्रेसमा युवाहरूको विश्वास फर्किन थालेको सन्देश यस प्रवेशले दिएको छ ।
नेता निधिद्वारा स्वागत
नवप्रवेशी युवाहरूलाई माला लगाएर स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले युवाहरूलाई परिवर्तनको संवाहक बन्न आग्रह गर्नुभयो ।
नेता निधिले भन्नुभयो, “आजको पुस्ता प्रविधि र नयाँ सोचले सुसज्जित छ। कांग्रेसभित्र युवाहरूको ऊर्जा र अनुभवको संगम आवश्यक छ। तपाईँहरूको आगमनले पार्टीलाई मात्र होइन, लोकतान्त्रिक आन्दोलनलाई नै नयाँ उचाइ दिनेछ।”
किन रोजे युवाले कांग्रेस?
प्रवेश गर्ने युवाहरूका अनुसार कांग्रेसको लोकतान्त्रिक इतिहास र वर्तमानमा गगन थापा जस्ता नेताहरूले बोकेको समृद्धिको भिजनले उनीहरूलाई तानिएको हो । “हामी परिवर्तन चाहन्छौँ र त्यो परिवर्तन स्थापित दलभित्रैबाट सम्भव छ भन्ने विश्वासका साथ हामी कांग्रेसमा आएका हौँ,” एक नवप्रवेशी युवाले बताए ।
यस पार्टी प्रवेशले आगामी निर्वाचनमा धनुषा र समग्र मधेस प्रदेशमा नेपाली कांग्रेसको संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ ।














Discussion about this post