धनुषा/माघ २३ गते । आसन्न निर्वाचन र बालअधिकार संरक्षणको सवाल विषयक कार्यक्रम जनकपुरधाममा माघ २३ गते सम्पन्न गरिएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सवल लगायत बालबालिकाका क्षेत्रमा कार्यरत १६ ओटा संस्थाको साझ सञ्जाल बालअधिकारका लागि नागरिक समाज संस्थाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य राख्दै इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बालअधिकारको विषयलाई पहिलो प्राथमिकतामा राखी राजनीतिक दलहरुले आ–आफ्नो घोषणा पत्रमा समावेश गर्न अग्रह गर्नु भयो । फागुन २१ गते आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल तथा सम्बन्धित सबैले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिनु भयो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचनको प्रचार प्रसार र आमसभामा बालबालिकालाई प्रयोग नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।
राष्ट्रिय बाल अधिकार परिषद मधेस प्रदेशका फोकल पर्सन संजिव महतोले आसन्न निर्वाचनमा राजनीतिक दल तथा उम्मेद्वारहरुले बालबालिकालाई प्रयोग नगर्न आग्रह गर्नु भयो । बालबालिकालाई प्रचार प्रसारमा वा निर्वाचन गतिनिधिमा प्रयोग गरेर निर्वाचन आचार संहिता उल्लंघन वा कानुनको उल्लंघन गरे त्यस्ता राजनीतिक दल तथा उम्मेदवारहरुलाई कारबाही गरिनु पर्नेमा उहाँले जोड दिनु भयो ।
जिल्ला बाल सञ्जाल सप्तरीका शिवशंकर मण्डलले राजनीतिक दलहरु बालबालिकाको संरक्षणप्रति जिम्मेवार भइदिनु पर्ने बताउनु भयो । यसैबिच कार्यक्रममा आगामी निर्वाचनलाई बालमैत्री बनाउँदै बालअधिकार संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ २५ बुँदे निर्वाचन आचारसंहिता तथा घोषणापत्रसम्बन्धी ध्यानाकर्षण पत्र राजनीतिक दलहरूलाई हस्तान्तरण गरिएको छ ।
ध्यानाकर्षण पत्रमार्फत निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न, बालबालिकालाई कुनै पनि प्रकारका चुनावी गतिविधि तथा प्रचारप्रसारमा प्रयोग नगर्न, तथा शैक्षिक संस्थालाई राजनीतिक गतिविधिबाट मुक्त राख्न आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै जनता समाजवादी पार्टी नेपालका विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय महासचिव बलिराम कापरीले आफ्नो दल र उम्मेदवारहरुले निर्वाचनमा बालबालिका प्रयोग नगरेको बताउनु भयो । तर, अभिभावकले नै बालबालिका लिएर आउने गरेको र कतिपय बालबालिका स्यम् आफै सहभागी हुने गरेको देखिएको उहाँको भनाई थियो । निर्वाचनमा आफ्नो दल जसपा नेपालले बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो ।
नेपाली काँग्रेस जिल्ला सचिव देवेन्द्र कुमार भरखेर यादवले बालबालिकालाई घरदैलो कार्यक्रम वा कुनै किसिमको राजनीतिक गतिविधिमा प्रयोग गर्न नहुने बताउनु भयो । आज भएको छलफल तथा यहाँ उठेका कुराहरुलाई पार्टीमै राखेर राजनीतिक गतिविधि तथा निर्वाचनमा बालबालिका प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा मधेस प्रदेश खेल कुद तथा समाज कल्याण मन्त्रालय, दातृ संस्थाहरुः युनिसेफ, सेभ द चिल्ड्रेन र पलान नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कायापलट, राष्ट्रिय अपाङ्ग महासंघ, सिजप, प्रदेश बाल सञ्जाल र आसमान नेपाल लगायत संघ संस्थाका प्रतिनिधिहरको सहभागितामा रहेको थियो ।





















Discussion about this post