धनुषा/माघ २२ गते। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अरू कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैं देशको नेतृत्व गर्न राजनीतिमा प्रवेश गरेको स्पष्ट पारेका छन्।
चुनावी कार्यक्रमका लागि जनकपुर आएका अध्यक्ष घिसिङले बुधबार बिहान सञ्चारकर्मीहरूसँगको भेटघाटमा मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उज्यालो नेपाल पार्टी स्पष्ट परिवर्तनकारी एजेन्डासहित मैदानमा उत्रिएको बताए।
उनले भने, “हामी देशको नेतृत्व गर्न आएका हौँ। अरू कसैलाई प्रधानमन्त्री बनाउन होइन। हामी नै यो देशमा वास्तविक परिवर्तन गर्नेछौँ।”
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी धेरै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेको दाबी गर्दै जनतामा नयाँ राजनीतिक शक्तिप्रति भरोसा बढ्दै गएको उल्लेख गरे। विगतमा व्यक्ति वा पार्टी हेरेर मतदान गर्ने प्रवृत्ति रहेको स्मरण गराउँदै उनले अब देशको समृद्धि, सुशासन र दीर्घकालीन परिवर्तनका लागि मत दिनुपर्ने आवश्यकता औँल्याए।
जेन–जी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक शक्तिका रूपमा उज्यालो नेपाल पार्टी रहेको उल्लेख गर्दै उनले नयाँ सोच र नेतृत्वलाई अवसर दिन नागरिकसँग आग्रह गरे।
उनले भने, “नयाँ सोच र नयाँ नेतृत्वलाई अवसर दिए मात्र देशले सही दिशामा फड्को मार्न सक्छ।”














Discussion about this post