जनकपुरधाम/पुस ९ गते। जनकपुरधाममा पाँचौँ अन्तर विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका सभामुख रामआशिष यादवले जनकपुरधामस्थित बाह्र विघा रङ्गभूमि मैदानमा गर्नुभएको हो।
प्रतियोगितामा धनुषा जिल्लाका संस्थागत तथा सामुदायिक गरी २४ वटा विद्यालयका विद्यार्थी सहभागी टिमहरूबीच प्रतिस्पर्धा भइरहेको छ। उद्घाटन समारोहमा बोल्दै सभामुख यादवले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई कुलतबाट जोगाउँदै भविष्यका खेलाडी उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले अन्तर विद्यालयस्तरीय प्रतियोगिताबाट नयाँ क्रिकेट प्रतिभाहरूको पहिचान हुने उल्लेख गर्नुभयो।
जनकपुर स्पोर्टस क्लब तथा न्यू भिजन नेपालको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा सहभागी विद्यालयहरूलाई ४ वटा समूहमा विभाजन गरी खेल सञ्चालन गरिएको छ। प्रत्येक समूहमा ६–६ वटा विद्यालय रहेका छन्।
नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता माघ १० गतेसम्म चल्ने आयोजकले जनाएको छ।














Discussion about this post