गिरिजानन्द साह/जनकपुरधाम/मंसिर २६ गते । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जनकपुरले आफ्ना सदस्यहरूको आम्दानी स्रोत वृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘भक्का तालिम’ सम्पन्न भएको छ। संस्थाले स्वरोजगार तथा सिपमूलक सीप विकासमार्फत सदस्यहरूलाई आर्थिक रूपमा सक्षम बनाउने दीर्घ रणनीतिअन्तर्गत तालिम आयोजना गरेको हो।
तालिममा कुल १५ जना सहभागी रहेको शाखा कार्यालय जनकपुरको शाखा प्रमुख दिनेश राजबंशीले जानकारी दिएको छ। प्रशिक्षणको मुख्य प्रशिक्षकका रूपमा सुस्मिता राजबंशीले भक्का उत्पादनका विभिन्न चरण, गुणस्तर व्यवस्थापन, बजार सम्भावना तथा व्यवसायिक रूपले कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक मार्गदर्शन गरिन्।
कार्यक्रमका प्रमुख अतिथि संस्थाको केन्द्रीय कार्यालय, लेखा विभागका वरिष्ठ अधिकृत श्री सन्तोष कुमार यादव रहे। उनले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्तो तालिम अत्यन्तै प्रभावकारी भएको बताउँदै लघुवित्तको उद्देश्य नै सदस्यहरूलाई स्वावलम्बी बनाउनु रहेको उल्लेख गरे।
त्यसैगरी, धनुषा जिल्लाका जिल्ला प्रमुख किशोर कुमार शाह विशेष अतिथिको रूपमा उपस्थित रहेको थियो । उनले ग्रामीण भेगका महिलाहरूका लागि सीपमूलक तालिम आवश्यक र उपयोगी रहेको बताए। उनले सिकेको सीपलाई उद्यमका रूपमा रूपान्तरण गर्न सहभागीसँग आग्रह गरे।
जीवन विकास लघुवित्त शाखा कार्यालय जनकपुरका अनुसार तालिम सम्पन्नपछि सहभागीहरूले भक्का उत्पादनलाई स्वरोजगारको माध्यम बनाउन प्रेरणा पाएको बताएका छ्न । संस्था आगामी दिनमा अझै व्यापक मात्रामा यस्ता सीप अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको शाखा प्रमुख दिनेश राजबंशीले बताए।





















Discussion about this post