जनकपुरधाम/कार्तिक ७ गते । छठ पर्वलाई लक्षित गर्दै लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामले संयुक्त रूपमा विपन्न तथा न्यून आय भएका श्रद्धालुहरूलाई सहयोग छ्ठ पुजा सामग्री वितरण गरेका छन्।
जनकपुरधामको मिल्स एरियास्थित विवाह मण्डप धर्म संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रममा करिब ६५ जनालाई छठ पूजा सम्पन्न गर्न आवश्यक सामग्री—साडी, नरिवल र पित्तलको कोनिया वितरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता लायन वर्ष २०२५/२६ का अध्यक्ष डा. राजेश साहले गरेका थिए। उनले छठ पर्व नेपाली समाजको आस्था, संयम र श्रद्धासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताउँदै महिलाहरूले आफ्ना श्रीमान्, छोरा र सन्तानको दीर्घायु र समृद्धिका लागि कठोर उपवास बस्ने परम्परा रहिआएको उल्लेख गरे। उनले भने, “समाजका पछाडि परेका वा समस्यामा रहेका मानिसहरूलाई सहयोग गर्नु नै हाम्रो मानवीय दायित्व हो।”
कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामका २०२५/२६ का बोर्ड पदाधिकारी, पूर्व अध्यक्षहरू र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहयोग सामग्री वितरणको यो पहलले समुदायमा सेवा र सहअस्तित्वको सन्देश दिएको सहभागीहरूले बताएका छन्।













Discussion about this post