जनकपुरधाम/असोज ३१ गते। राजर्षी जनक योग साधना केन्द्र, जनकपुरधाम–०८ ले भू–माफिया तथा गुठी संस्थान जनकपुरधामको मिलेमतोमा भएको जग्गा कब्जाको विरोधमा प्रदर्शन गरेको छ।
राजर्षि जनक पतंजली योग साधना केन्द्रले गुठी संस्थान जनकपुरधाममाथि भुमाफियासँग मिलेमतो गरी जग्गा कब्जा गर्न खोजेको आरोप लगाउदै विरोधमा प्रदर्शन गरेको हो ।
विरोध जुलुस ऐतिहासिक जानकी मन्दिरबाट सुरु भई गुठी संस्थानको जनकपुरधामस्थित कार्यालयमा पुगेको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले “भू–माफिया मुर्दाबाद”, “भ्रष्ट हाकिम मुर्दाबाद” लगायतका नाराबाजी गर्दै गुठी संस्थानका कर्मचारीहरूलाई कार्यालयबाट बाहिर निकाली कार्यालयमा ताल्चा समेत लगाएका थिए।
संस्थान विरुद्ध योग साधना केन्द्रले सात बुँदे माग समेत राखेको छः
१. गुठी संस्थानले २०८२ असोज १२ गते गरेको जग्गा भाडा विज्ञापन रद्ध/स्थगित गर्नुपर्छ।
२. गुठीको नाममा रहेको जनकपुरधाम–०८, सि.नं. १३५५–१७, कित्ता नं. ५८ क्षेत्रफल ०–७–० एकिन गर्नुपर्छ।
३. गुठी र राजर्षि पतञ्जली योग साधना केन्द्रबीच भएको सम्झौता नवीकरण गर्नुपर्छ।
४. कपालमोचनी सरको जग्गा एकिन गरी संरक्षण र सम्बर्द्धन गर्नुपर्छ।
५. जनकपुरधामका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक सम्पदाको संवैधानिक अधिकारअनुसार संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ।
६. योग साधना केन्द्रहरूमा राज्यको लगानी सुनिश्चित गर्नुपर्छ।
७. योग केन्द्रहरूको संरक्षण तथा सम्बर्द्धनका लागि नीति निर्माण गर्नुपर्छ।
प्रदर्शनका क्रममा स्थानीय सर्वसाधारण र योग साधकहरू पनि सहभागी भएका थिए।
उनीहरूले गुठी संस्थानको विवादास्पद कदमले जनकपुरधामका धार्मिक सम्पदामा खतरा पुगेको आरोप लगाएका छन्।














Discussion about this post