धनुषा/असोज २८ गते। मधेस प्रदेशकै पहिलो आकासे पुल (फ्लाइओभर) धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–७ मा शिलान्यास गरिएको छ। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको पहल, योजना र बजेट विनियोजनअनुसार उक्त पुल निर्माण कार्य अघि बढाइने भएको हो।
सिक्स लेन सडकखण्डमा बन्न लागेको उक्त आकासे पुल सडक डिभिजन धनुषा, जनकपुरधामले लक्ष्मिनिया गाउँपालिका–७ का वडा अध्यक्ष गङ्गा साहको अध्यक्षतामा शिलान्यास गरिएको छ। शिलान्यास समारोहमा सडक डिभिजन धनुषाका प्रमुख दरोगा प्रसाद साह, एमाले नेता सन्तोष यादव, जिल्ला अध्यक्ष भोला यादव, वडा अध्यक्ष महावीर साह लगायत स्थानीय जनप्रतिनिधि, दलका कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पूर्व उपप्रधानमन्त्री महासेठको नेतृत्वमा मधेस प्रदेशमा भौतिक पूर्वाधारको विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै आकासे पुलको निर्माणले धनुषा र आसपासका क्षेत्रका बासिन्दालाई यातायातको भीडभाडबाट ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे।
स्थानिय बासिन्दाले पनि आकासे पुल निर्माणलाई प्रदेशकै गौरवको योजना भन्दै खुशी व्यक्त गरेका छन्। पुल निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रको यातायात, व्यापार र समग्र विकासमा नयाँ गती आउने अपेक्षा गरिएको छ।













Discussion about this post