जनकपुरधाम। जेन–जीको प्रदर्शनका क्रममा क्षतिग्रस्त जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालय पुनः सञ्चालनमा आएको छ। कार्यालयको भौतिक संरचना मर्मत, सरसफाइ तथा रङरोगनका काम सम्पन्न भएपछि राजस्व संकलन र सेवा प्रवाह नियमित रूपमा सुरु गरिएको कार्यालयले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेन–जीको प्रदर्शनका क्रममा जनकपुरधामका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा आन्तरिक राजस्व कार्यालयमा करिब दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए। उनका अनुसार, आगजनीबाट कार्यालय हाताभित्र रहेका दुईवटा चारपाङ्ग्रे सवारी, पाँचवटा मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप, कागजपत्र, राजस्व स्टिकर तथा पालेघरलगायतका संरचना जलेर नष्ट भएका थिए।
मर्मतसम्भार पूरा भएपछि कार्यालयले पुनः सेवा सञ्चालन गरेको र सेवाग्राहीले राजस्व बुझाउने प्रक्रिया पनि सुरु गरेको प्रमुख गुप्ताले बताए।
यसैबीच, सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा जनकपुरधाम आन्तरिक राजस्व कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार, उक्त वर्ष चार अर्ब ८८ करोड ६८ लाख रुपैयाँको लक्ष्य रहेकोमा चार अर्ब ९० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो।
लामो समयदेखि राजस्व नतिर्ने १२५ व्यावसायिक फार्मविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको पनि कार्यालयले जनाएको छ। तीमध्ये १० वटा फार्मबाट मात्रै चार करोड ३० लाख रुपैयाँ राजस्व उठाइसकिएको प्रमुख गुप्ताले जानकारी दिए।













Discussion about this post