गिरिजानन्द साह/जनकपुरधाम/असोज ११ गते। जनकपुरधाम घर जग्गा व्यवसायी संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कदम चौकस्थित जेसीज भवनको तल्लो तलामा रहेको जनकपुरधाम घर जग्गा व्यवसायी संघको कार्यालय प्रागंनमा क्तदान कार्यक्रम सम्पन्न भएको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी तथा युवाहरूले सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रममा कुल २५ जनाले रक्तदान गरेका छन्। संघका अध्यक्ष रञ्जित पजियारले जानकारी दिँदै यो अभियानले तत्कालीन रक्त आवश्यकतामा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार जनकपुरधाम र आसपासका स्वास्थ्य संस्थामा बिरामीहरूलाई समयमा रक्त नपाउँदा समस्यामा पर्नुपर्ने अवस्था रहँदै आएको छ। यस्तो अवस्थामा संघले आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलित रक्तले धेरैलाई जीवनदान दिन सक्ने अपेक्षा गरिएको छ।
अध्यक्ष पजियारले भने, “रक्तदान जीवनदान हो भन्ने सन्देशलाई व्यवहारमै उतार्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो। यसले समाजमा रक्तदानप्रतिको जनचेतना बढाउनुका साथै आवश्यकता अनुसार तत्काल रक्त उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
कार्यक्रममा सहभागी व्यवसायी र युवाहरूले समेत रक्तदानलाई महान् मानवीय कार्यको रूपमा ग्रहण गर्दै निरन्तर यस्तो अभियान सञ्चालन गर्न संघलाई सुझाव र प्रोत्साहन दिएका छन्।
“रक्तदान जीवनदान” भन्ने नारासहित सम्पन्न कार्यक्रमले सामाजिक एकता, मानवीय सहयोग र दायित्वबोधलाई अझ प्रष्ट बनाएको संघको महासचिव सुरेन्द्र कुमार साहको भनाइ रहेको छ। संकलित रक्त नजिकैका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामार्फत आवश्यक बिरामीलाई उपलब्ध गराइने जनाइएको छ।














Discussion about this post