जनकपुरधाम/भदौ ३१ गते। जेनजीको आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा भएको तोडफोड र आगलागीबाट धेरै क्षती पुगेको छ। यस घटनाको कारणले कार्यालयको दैनिक कार्य सञ्चालनमा पनि कठिनाइ आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको दैनिक कार्य संचालन गर्न सहज बनाउन लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी र लियो क्लब अफ जनकपुरधामले संयुक्त रूपमा सहयोग हस्तान्तरण गरेका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबहरूले कार्यालयलाई आवश्यक सामग्रीहरू प्रदान गरेका छन्। सहयोगमा १० सेट तन्ना, डस्ना, मच्छर झुल र तकिया, १० थान प्लास्टिक कुर्सी, १ थान अफिस टेबल र ८ कार्टून पिउने पानी समावेश छन्।
लायन्स क्लबका पदाधिकारीहरूले यस सहयोगलाई आपसी सहयोग र सामाजिक जिम्मेवारीतर्फको साझा कदमका रूपमा व्याख्या गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका पदाधिकारी, ट्राफिक प्रहरी कार्यालयका ईन्सपेक्टर सुर्य बहादुर शाही लगायत स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।














Discussion about this post