गिरिजानन्द साह/भदौ १३ गते । जनकपुरधामस्थित ब्याहुत सेवा समितिले कलवार समुदायका कूल देवता बलभद्र भगवानको जयन्ती यस वर्ष पनि भव्यताका साथ मनाएको छ। प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिमा आयोजना हुने यस पर्वमा यसपटक जनकपुरधाममा धार्मिक उत्साह र सामुदायिक एकताको दृश्य देखिएको थियो।
जयन्तीको अवसरमा बिहानैदेखि कलवार समुदायका महिला, पुरुष, युवा तथा वृद्धहरुको ठूलो भीड कलवार कुट्टीस्थित मन्दिर परिसरमा जम्मा भएको थियो। भक्तजनहरुले भगवान बलभद्रको विशेष पूजा आराधना गर्दै विभिन्न धार्मिक विधिहरु सम्पन्न गरेका थिए। पूजा पश्चात दिवाभोज, प्रसाद वितरण लगायतका कार्यक्रम आयोजना गरिएको थियो।
व्याहुत कलवार सेवा समिति जनकपुरधामले बलभद्र जयन्तीको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको समितिका अध्यक्ष श्याम साहले जानकारी दिए । बलभद्र जयन्तीको अवसरमा मानव सेवा आश्रममा भोजन दान, रक्तदान, दौड प्रतियोगिता, चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु राखिएको उनले जानकारी दिए । यस अवसरमा सयौंको सहभागितामा एक भव्य शोभायात्रा समेत निकालिएको थियो। शोभायात्रा जनकपुरधामको मुख्य बजार क्षेत्रको परिक्रमा गर्दै पुनः कलवार कुट्टीमै पुगी समापन भएको थियो। भक्तजनहरुको सहभागिता, बाजागाजा र धार्मिक नाराले शोभायात्रालाई झनै आकर्षक बनाएको थियो।
कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, मधेश प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री सरोज यादव, वन तथा वातावरण मन्त्री संजय यादव, प्रदेश सभा सदस्य राम सरोज यादव लगायतका प्रमुख राजनीतिक व्यक्तित्व, पत्रकार, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा स्वजातीय समुदायका अगुवाहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो।
धार्मिक मान्यताअनुसार भगवान कृष्णका दाजु बलरामलाई बलभद्रको रुपमा चिनिन्छ। बल शब्दले शक्ति र भद्र शब्दले अन्नलाई जनाउने भएकाले बलभद्रलाई शक्ति र अन्नको प्रतीक मानिन्छ। बलभद्र भगवानलाई विशेष गरी भात, विशेष किसिमको दाल र पाँच थरी तरकारीको भोग लगाउने प्रचलन रहेको छ। पूजा सम्पन्न भएपछि सो भोगलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ।
जनकपुरधाममा सम्पन्न यस पर्वले धार्मिक आस्था मात्र नभई समुदायबीच आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरेको सहभागीहरुले बताएका छन्।






















Discussion about this post