एजेन्सी/श्रावन १७ गते । नागपुरबाट एक अचम्मको घटना सार्वजनिक भएको छ । यहाँकी एक ’लुटेरी दुलही’ समीरा फातिमा नामक महिलालाई प्रहरीले पक्राउ गरेको छ, जसले आठ जना पुरुषसँग विवाह गरी करोडौँको ठगी गरेकी थिइन् । प्रहरीका अनुसार समीरा आफ्नो नवौं शिकार बनाउने योजनामा थिइन्, तर त्यसअघि नै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानमा पत्ता लागेको अनुसार समीरा शिक्षित छिन् र पेशाले शिक्षिका हुन् । उनी एक गिरोहसँग मिलेर धनी मुस्लिम पुरुषहरूलाई निशाना बनाउँथिन् । समीरा आफूलाई तलाकशुदा बताउँदै सहानुभूति बटुल्थिन् र भनिन्, “म दोस्रो श्रीमती भएर बस्न तयार छु, मलाई सहारा चाहिएको छ ।” यसरी उनी पीडितहरूलाई प्रेम जालमा फसाएर विवाह गर्थिन् । विवाहपश्चात केही समयमै उनी झगडा गर्न थाल्थिन् र झुटा मुद्दा वा बदनाम गर्ने धम्की दिँदै लाखौँ रुपैयाँ असुल्ने गर्थिन् ।
पीडितहरूका अनुसार समीरा फातिमाले कोहीसँग ५० लाख, त कोहीसँग १५ लाख नगद वा बैंकमार्फत रकम ठगिन् । प्रहरीलाई शंका छ कि उनले अघिल्ला १५ वर्षमा कयौँ व्यक्तिहरूलाई शिकार बनाएकी छिन् । यस क्रममा उनले केही रिजर्व बैंकका वरिष्ठ अधिकारीहरूलाई समेत ठगिएको खुलेको छ।
यस घटनाको पर्दाफास मार्च २०२३ मा गुलाम पठान नामका एक व्यक्तिले उजुरी दिएपछि भएको हो । उनले समिराविरुद्ध उजुरी दिँदै भने, “उनी २०१० देखि अहिले सम्म आठवटा विवाह गरिसकेकी छिन् र करोडौ ठगी गरिसकेकी छिन् ।” प्रहरीकहाँ अहिलेसम्म १० लाख रूपैयाँ ठगीका प्रमाणित प्रमाणहरू छन् ।
समिराले विवाहपछि छिट्टै झगडा गरी अदालतमा मुद्दा हाल्ने धम्की दिई मिलापत्रका नाममा ठूलो रकम असुल्ने गर्दथिन् । उनीविरुद्ध अझ धेरै पुरुषहरूले उजुरी दिन तयार भएको जानकारी गिट्टीखदान प्रहरीले दिएको छ।
समीरा फातिमा सिविल लाइन्स क्षेत्रमा रहेको एक चिया पसलमा आफ्नो नवौं शिकार भेट्न गएकी थिइन् । त्यहीँबाट उनलाई प्रहरीले पक्राउ ग¥यो । हाल उनी प्रहरी हिरासतमा छन् र शुक्रबार उनको हिरासत समाप्त हुँदैछ।
गिट्टीखदान प्रहरी स्टेशनका अधिकारीहरूले उनका पुराना केसहरूको अनुसन्धान थालेका छन् । प्रहरीलाई आशंका छ कि समीराले अझ धेरै मानिसलाई ठगेकी छिन् । अब थप पीडितहरू पनि अगाडि आएर उजुरी दिने तयारीमा छन् ।
यो घटना महाराष्ट्रमा मात्र होइन, सम्पूर्ण देशमा बहसको विषय बनिरहेको छ। प्रहरीले सबै पीडितहरूलाई अगाडि आएर उजुरी गर्न अनुरोध गरेको छ।














Discussion about this post