गिरिजानन्द साह/जनकपुरधाम/असार १४ गते ।जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ को आयोजनामा सम्पन्न भएको जिल्ला स्तरीय प्रथम वडा कप कराँते प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल सोतोकान कराँते संघ धनुषाको सहकार्यमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा आयोजना गरिएको थियो।
प्रतियोगितामा ज्ञानकुप इङ्लिस स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ भने विद्यापति स्कुल द्वितीय र धारापानी दोजो तृतीय स्थानमा रहेका छन्।
कार्यक्रमको उद्घाटन मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालले गर्नु भएको थियो। समापन समारोहको प्रमुख आतिथ्य भने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह रहेका थिए।
मेयर साहले आफ्नो सम्बोधनमा श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्यलाई थप तीव्रता दिइने प्रतिवद्धता जनाउनुभयो।
समारोहमा विशिष्ट अतिथि रूपमा वडा नं. ८ का अध्यक्ष दिनेश सिंह, मधेश प्रदेश खेलकुद परिषदका सदस्य लव अधिकारी लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, वडा नं. १४ का वडा सदस्य गायत्री देवी धनकार, रमेश साह, राकेश पाठक र राजकुमार साह, कराँते प्रशिक्षकहरू, खेलाडी, पत्रकार र स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय तहमा कराँते खेलको प्रवर्द्धन गर्नुका साथै नव प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्नु रहेको छ। प्रतियोगितामा धनुषा जिल्लाभित्रका विभिन्न कराँते संघ, संस्था, विद्यालय र क्लबका प्रशिक्षक तथा खेलाडीहरूको सक्रिय सहभागिता देखिएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा समूहहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।




















Discussion about this post