गिरिजानन्द साह/जनकपुरधाम/असार १२ गते। जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ को आयोजनामा आगामी असार १३ र १४ गते दुई दिने जिल्ला स्तरीय प्रथम वडा कप कराँते प्रतियोगिता २०८२ हुने भएको छ। नेपाल सोतोकान कराँते संघ धनुषाको सहकार्यमा हुन गइरहेको उक्त प्रतियोगिता मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सञ्चालन हुनेछ।
जनकपुरधामको श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला (वडा नं. १४) मा आयोजना हुने प्रतियोगिता दिउँसो १ बजेबाट सुरु हुनेछ। आयोजक वडाले सम्पूर्ण धनुषा जिल्लाभित्र क्रियाशील कराँते संघ, संस्था, विद्यालय, क्लब, प्रशिक्षक र खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन हार्दिक आमन्त्रण गरेको छ।
प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा कराँते खेलको प्रवर्द्धन गर्नुका साथै नवप्रतिभाहरुलाई पहिचान दिनु रहेको आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिसकिएको र तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षको भनाइ छ।
यस प्रतियोगिताले कराँते खेलप्रति बालबालिका तथा किशोरकिशोरीको आकर्षण बढाउने अपेक्षा गरिएको छ।





















Discussion about this post