जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४४ करोड ८२ लाख ७ हजार ८८३ को बजेट सार्वजनिक गरेको छ। एक विशेष समारोहबीच सम्पन्न ११ औं नगरसभामा नगर उप–प्रमुख शोभा देवी साहले नीति तथा कार्यक्रम सहितको बजेट प्रस्तुत गरेकी हुन्।
बजेट अनुसार, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड, विशेष तथा सम्पूरक अनुदान र आन्तरिक स्रोतहरू प्रमुख आय स्रोत रहेका छन्। जम्मा व्यय पनि सोही रकम बराबर छुट्याइएको छ।
बजेटको आय विवरण: संघीय सरकारको वित्तीय समानीकरण अनुदान – रु. १० करोड ४६ लाख सशर्त अनुदान – रु. १८ करोड ६ लाख राजस्व बाँडफाँड – रु. ९ करोड ५९ लाख २७ हजार ४२३ विशेष अनुदान – रु. ६८ लाख सम्पूरक अनुदान – रु. २ करोड ९३ लाख प्रदेश सरकारबाट अनुदान – करिब १.३० करोड आन्तरिक स्रोत (मालपोत, ठेक्का, संचित कोष) – झण्डै १.८५ करोड
व्यय विवरण: वडा, शाखा तथा योजना खर्च – रु. २३ करोड १५ लाख सशर्ततर्फ – रु. १८ करोड ६ लाख सम्पूरकतर्फ – रु. २ करोड ९३ लाख विशेषतर्फ – रु. ६८ लाख जम्मा व्यय – रु. ४४ करोड ८२ लाख ७ हजार ८८३
> “कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्यमा सुधार : समावेशी सूचना प्रविधिले समृद्धिको आधार”
उक्त नारासहित प्रस्तुत गरिएको बजेटले बालबालिकाको शिक्षा र पोषण, युवाको सीप र रोजगारी, महिलाको नेतृत्व, ज्येष्ठ नागरिकको सम्मान लगायत समावेशी र प्रविधिमैत्री समाज निर्माणको अठोट लिएको छ।
नगरसभामा मेयर राजेन्द्रप्रसाद यादव, पूर्व मेयर अनिल यादव, उपमेयर शोभा देवी साह, कार्यपालिका सदस्यहरू राम उदगार दास, सुरेश मण्डल, राम शोभित दाहा, प्रदीप यादव लगायतका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रममा विभिन्न विभागीय प्रमुख तथा कर्मचारी, राजनीतिक दलका नेता, पत्रकार, सुरक्षा निकाय, बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो।
कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख रिमा झाले गरेकी थिइन्। “समृद्ध नगर : सुखी नगरवासी” को आकांक्षा साथ नीति तथा कार्यक्रम अघि बढाइने नगर प्रमुख यादवले बताए।




















Discussion about this post