धनुषा/गिरिजानन्द साह/असार ९ गते। धनुषा जिल्लाको धनौजी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ करोड ६६ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरी पारित गरेको छ। सोमबार सम्पन्न गाउँसभा बैठकमार्फत गाउँपालिकाले नीति तथा कार्यक्रमसहित बजेट अनुमोदन गरेको हो।
गाउँपालिका अध्यक्ष राजकुमार साहले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा र दिगो विकासका क्षेत्रमा प्राथमिकता दिइएको जानकारी दिए। अध्यक्ष साहका अनुसार बजेटको ठूलो अंश सेवा प्रवाह र विकास निर्माणतर्फ केन्द्रित गरिनेछ।
गाउँपालिकाले चालू खर्च, पुँजीगत खर्च, अनुदान कार्यक्रम, संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा आन्तरिक आम्दानीलाई समेत आधार मानेर बजेट निर्माण गरेको जनाएको छ।
बजेटमार्फत साना तथा ठूला पूर्वाधार निर्माण, युवामुखी रोजगार कार्यक्रम, विपन्न वर्गका लागि सामाजिक सुरक्षा भत्ता, कृषि प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार, शिक्षाको गुणस्तरीकरण तथा वातावरणमैत्री योजनामा जोड दिइएको छ।
सभामा गाउँपालिकाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिकाले बजेट कार्यान्वयनका क्रममा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएको छ।




















Discussion about this post